Logo

भीम रावललाई ऋषि धमलाको प्रश्न : तपाईँले एमाले छोड्न लागेको भन्ने कुरा सत्य हो ? (भिडिओसहित)



नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले आफूले पार्टीबाट राजीनामा नदिने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा पत्रकार धमलाले–तपाईंले उपाध्यक्षबाट पनि राजीनामा दिएर नेकपा (एमाले) छाड्ने भन्ने कुरा सत्य हो ? भनेर सोधेका थिए । जवाफमा रावलले भनेका छन–‘होइन्, मैले यस्तो कुरा गरेको छैन् । किनभने म यो पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत ल्याएर निर्बाचित भएको उपाध्यक्ष हुँ । बरु म देशभरिका कार्यकर्तालाई के भन्छु भन्दा पहिले १० बुँदे र अन्तरपार्टी निर्देशन कार्यान्वयन गरौं । त्यसपछि सबै ठाउँमा सहमति गरेर यस्तो फुट र बिभाजनको बेलामा पार्टीले सबै ठाउँमा सरकार गुमाएको बेलामा पनि चेत नखुल्ने ? यो कस्तो खालको परिपाटी हो ? यस्तो नगरौं, हामी मिल्नुपर्छ भन्ने कुरा मैले राखेको थिएँ ।’ प्रस्तुत छ रावलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले कार्यदलबाट किन राजिनामा दिनुभयो, यसको कारण के हो ?

मैले धेरै प्रयत्न गरें । हामीले औपचारिक/अनौपचारिक धेरै किसिमका वार्ता गरें । यो पार्टीलाई जोगाउन र यो संस्थालाई जोगाउन । त्यसपछि देशको हितमा साधना गर्ने काम गर्नुपर्छ भन्ने उद्देश्यबाट मैले त्यो गरें । र, १० बुँदे सहमति पनि भयो । पार्टी केन्द्रिय कमिटीले अन्तरपार्टी निर्देशन–१२ जारी गर्यो । तर, त्यसको कार्यान्वयन कतिपय ठाउँमा भयो, कतिपयमा भएन । त्यो कार्यान्वयन नगराउन केन्द्रबाटै मानिसहरुलाई उचालियो । मैले यस सम्बन्धमा भने धेरै चरणमा समूहगत र व्यक्तिगत रुपमा पार्टी अध्यक्ष, कार्यदल र पहिलो वार्तामा संलग्न साथीहरुसँग धेरै कुराकानी गरें । देशको राजनीति नै लथालिङ्ग भइरहेको यस्तो विषम अवस्थामा, पार्टीमा विभाजन आइरहेको अवस्थामा यस पार्टीलाई बचाऔं र भएको सहमति कार्यान्वयन गरौं र दिईएको केन्द्रीय कमिटीको निर्देशन पालना गरौं भनेर मैले धेरै प्रयास गरें । तर, सुदुरपश्चिम प्रदेशमा पुरै र देशका अन्य कतिपय भागहरु वडा र जनसंगठनहरुमा यसको कार्यान्वयन हुन सकेन् ।

हिजोको बैठकमा यस सम्बन्धमा कार्यसुची राखिएको थियो । मैले कार्यदलको तर्फबाट कार्यदलमा भएका सकारात्मक कुराहरुसहित भएका समस्याहरुलाई औंल्याएर अब यसको प्रभावकारी कार्यान्वयन हुनुपर्याे । अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयन हुनु पर्यो । पार्टीले निर्णय गर्ने तर त्यसको कार्यान्वयन नहुने कुराले अन्ततः पार्टीलाई क्षति पुर्याउछ भनेर मैले कुराहरु राखें । तर, मेरा कुराहरुप्रति स्थायी कमिटीका अधिकांश सदस्यहरुको समर्थन हुँदाहुँदै पार्टी अध्यक्षबाट अब यो दश बुँदेको औचित्य नरहेको कुरा गर्दै जहाँ–जहाँ कार्यान्वयन हुन बाँकी छ, त्यहाँ हुँदैन । हामीले जतिबेला पार्टीमा मतभेद भएको थियो, त्यो बेला उहाँहरुले जसरी निर्णय गर्नुभएको थियो र एकतर्फी रुपमा मान्छेहरु राख्नुभएको थियो । तिनै मान्छेहरु हुन्छन् भन्ने तर्क उहाँले गर्नुभयो । जबकी १० बुँदे सहमतिमा हाम्रो अनुपस्थितीमा तत्कालिन पार्टीमा रहनुभएका साथीहरु अर्थात् अध्यक्षको नेतृत्वमा भएका जुन निर्णयहरु छन्, ती बदर हुनेछन् भन्ने कुरा १० बुँदेमा लेखिएको थियो । अब यसरी कार्यदलले गरेको निर्णय कार्यान्वयन नहुँने, केन्द्रिय कमिटीले जारी गरेको अन्तरपार्टी निर्देशन जसमा स्वयंम अध्यक्षको हस्ताक्षर छ त्यो पनि कार्यान्वयन नहुने ।

अब यस्तो स्थितिमा त्यो कार्यदलको संयोजक भएर बसिरहनुको औचित्य देखिन साथै कतिपय साथीहरुले दिएका अन्तवार्ताहरु पनि मैले सुनें । उहाँहरु के भन्नुहुन्थ्यो भने त्यो कार्यदलको संयोजक त भीम रावल आफैँ हुनुहुन्छ नि । उहाँले गरे भइहाल्यो नि । एकातिर त्यस्तो कुरा गर्ने अनि अर्कोतिर पार्टी केन्द्रिय कमिटीमा गरेका निर्णयहरु र स्वंयम आफैले गरेको हस्ताक्षर पनि कार्यान्वयन नगर्ने ? यस्तो स्थिति देखेपछि मलाई के लाग्यो भने यो वास्तवमा नेपालको कम्युनियट आन्दोलनलाई एकताबद्ध हुन नदिने गम्भिर क्रियाकलापहरु भइरहेको रहेछ । अब बाहिर आफुले जिम्मा लिएर नगर्ने कुरा र खासगरि पार्टी अध्यक्षले नमान्ने कुरामा संलग्न भएर आफुले त्यसको नैतिक दायित्व बहन गर्नु अनुचित हुन्छ भन्ने लागेर मैले राजीनामा दिएको छु । सँगसँगै मैले यो १० बुँदे सहमतिको सम्बन्धमा हामीले जुन विन्दुबाट बिभिन्न वार्ताहरु सुरु गरेका थियौं र बिचमा भएका प्रमुख कुराहरुलाई उल्लेख गरेर यो किन कार्यान्वयन हुनुपर्छ भन्ने मेरो फरक मत मैले स्थायी कमिटीमा दर्ज गरेको छु । साथै, पार्टीको केन्द्रिय कमिटीमा १० बुँदे सहमति अनुरुप अन्तरपार्टी निर्देशन–१२ अनुसार कार्यदलले छलफल गरेर केन्द्रिय कमिटीका सदस्यहरुमा मनोनयन गर्नुपथ्र्यो । त्यो कुरा स्वयम पार्टी अध्यक्षले मानेर उहाँले त्यसमा हस्ताक्षर गर्नुभएको छ । त्यो विषयमा छलफल गर्दा छलफल नै नगरौं भन्ने ? मंसिरमा महाधिवेशन आउन लागिसक्यो केन्द्रिय कमिटी सदस्य किन थप्ने भन्ने । अनि कुन व्यक्तिसँग कुन कोठामा कहाँ सहमति भएको थियो त्यसको आधारमा दुई जना केन्द्रीय सदस्य थप्ने, अब यो भन्दा मनपरितन्त्र के हुन्छ ?

केन्द्रीय सदस्य कसलाई थपियो ?

अब मैले त्यसमा रुचि नै राखिनँ । किनभने मलाई व्यक्तिविषेशको रुचि होइन । मलाई नीगिगत कुरा, पार्टी एउटा प्रणालीमा चल्छ, एउटा पद्धतीमा चल्छ । त्यो केही पनि भएन भने पार्टी हुँदैन । त्यस्तो पार्टी भनेको एउटा व्यक्तिविषेशको दाईँ गर्ने ठाउँमा परिणत हुन्छ । त्यसकारण मलाई को व्यक्ति आयो भन्नेमा प्रभु साहजी र उहाँका मान्छेहरुमा मेरो व्यक्तिगत रुपमा कुनै पुर्वाग्रह होइन् । तर, पार्टी त एउटा विधिमा चल्नुपर्यो नि ।

तपाईंले उपाध्यक्षबाट पनि राजीनामा दिएर नेकपा (एमाले) छाड्ने भन्ने कुरा सत्य हो ?

होइन्, मैले यस्तो कुरा गरेको छैन् । किनभने म यो पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत ल्याएर निर्बाचित भएको उपाध्यक्ष हुँ । बरु म देशभरिका कार्यकर्तालाई के भन्छु भन्दा पहिले १० बुँदे र अन्तरपार्टी निर्देशन कार्यान्वयन गरौं । त्यसपछि सबै ठाउँमा सहमति गरेर यस्तो फुट र बिभाजनको बेलामा पार्टीले सबै ठाउँमा सरकार गुमाएको बेलामा पनि चेत नखुल्ने ? यो कस्तो खालको परिपाटी हो ? यस्तो नगरौं, हामी मिल्नुपर्छ भन्ने कुरा मैले राखेको थिएँ ।

केपी शर्मा ओलीले भीम रावलले नेकपा (एमाले)मा जहिले पनि निउँ खोज्ने गर्नुहुन्छ भन्नु हुन्छ, नेताहरुले पनि तपार्इँ पद र व्यक्तिगत स्वार्थको लागि लाग्नहुन्छ भन्छन् नि ?

त्यसो हो भने पञ्चायतकालमा निरंकुश शासन थियो नि त्यसको विरुद्धमा बोलिरहने जेल परिरहनेले पनि त्यतिबेलाको व्यवस्थामा निउँ खोजेको होला नि ? अनि पार्टीमा सिद्धान्त, विधि र नीतिको कुरा गर्दाखेरि निउँ खोजेको ठहरिन्छ भने यो कुनै पनि स्वाभिमानी व्यक्तिले राजनीति गर्दा देश र जनताको लागि गरेको हुन्छ । त्यहाँ शिर निहुँर्याएर अनुचित, तथ्यहिन र स्वेच्छाचारी कुराहरु मानेर कोही पनि हिँड्दैन् ।

तर, तपाईं जहिलेपनि नेकपा (एमाले) लाईं फुटाउनतिर लाग्नुभयो भन्ने पनि आरोप छ नि ?

अनि कार्यदलले सहमति गरेर यसमा सहमति गरौं भन्दा नमान्ने मान्छेले विभाजन गरेको ठहरिन्छ कि सहमति गरौं पार्टीमा विभाजन नगरौं भन्ने मान्छे ? त्यतिबेला मैले माधवकुमार नेपालज्यूको कुराहरु मानिनँ, मलाई त्यो पक्षबाट कति आक्रमण भएको छ ? मलाई गुप्तचरको मान्छे भनेर समेत प्रहार गरियो । यत्रो कुरा सहेर जो मान्छे पार्टीको पक्षमा उभिन्छ अनि त्यही मान्छे पार्टीको बिभाजनमा लाग्ने रे ? अनि भएका सहमति नमान्ने व्यक्तिले पार्टीको एकता गरेको ठहरिन्छ भने यो भन्दा हाँस्यास्पद कुरा के हुन्छ ?

अब तपाईं नेकपा (एमाले) मै बसिरहनु हुन्छ कि नेकपा (एकिकृत समाजवादी) मा जानुहुन्छ ?

मैले जुन सिद्धान्त, नीति र विधिको कुरा गरेको छु । यो कुरा पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यू र म बीचको व्यक्तिगत विवाद मेरो तर्फबाट होइन् । तर, आजभोलि मलाई के लाग्न थालेको छ भने मैले देशको स्वाधिनता विरुद्धमा आएको एमसीसीको विरुद्धको अग्रपंतिमा आएर बोलें । म सुदुरपश्चिमको अछाम जिल्लाको बासिन्दा र अछाम जिल्लासमेत पर्ने सुदुरपश्चिम प्रदेशको लिम्पियाधुरा, लिपुलेक र कालापानी पनि भारतीय अतिक्रमणमा छ भनेर बोलें । मलाई व्यापक रुपमा प्रहार हुनुमा यही दुईवटा कारण हुन कि जस्तो लागेको छ । अब कुनै पक्षबाट निरन्तर प्रहार हुन्छ भने त्योसँग एक हदसम्म जुधिरहन्छु । अब त्यसका परीणामहरु के हुन्छन् आउने दिनमा तपाईहरुले थाहा पाइहाल्नुहुन्छ ।

उसोभए तपाईंले नेकपा (एमाले) छाड्दै हुनुहुन्छ हो ?

मैले नेकपा (एमाले) किन छाड्ने ? मैले अघि पनि भनें नि म निर्वाचित उपाध्यक्ष हुँ ।

तर, तपाईंको कुरा पार्टीमा सुनिदैन् नि ?

होइन्, मैले जुन सिद्धान्त, नीति र विधिको कुरा गरेको छु । त्यो कुरा नसुने देशभरिका कार्यकर्ताहरुले सुन्नुहोला नि ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो सुदुरपश्चिममा पुगेर एमसीसी देशको हितमा छ, अब पास गराउँछु भन्नुभएको छ, यस विषयमा के भन्नुहुन्छ ?

जसरी महाकाली सन्धी गर्दा देउवाजीले नै यो महाकाली सन्धी राष्ट्रिय हितमा छ भनेर जनतालाई झुक्याउनु भएको थियो । अहिले एमसीसी अनुदान हुने ? कहाँ नेपालको कानूनमाथि लेखिएको छ भन्ने ? उहाँ पढ्नु हुँदो रहेनछ । म उहाँसँग बहस गर्न तयार छु । मसँग बहस गर्नु म देखाइदिन्छु कहाँ नेपालको कानुन मिच्ने भनेको छ, कहाँ नेपालको हितमा आघात पार्ने भनेको छ, कुन–कुन बुँदाले राष्ट्रघात गर्छ । म देखाइदिन्छु । म चुनौति दिन चाहन्छु । यो पास भयो भने नेपाल उपनिवेशको बाटोमा जान्छ । पहिले महाकाली सन्धी गर्दापनि उहाँ नै हुनुहुन्थ्यो, अहिले पनि उहाँ नै हुनुहुन्छ । यस्तो काम भयो भने देशको स्वाधिनतामाथि ठुलो प्रहार हुन्छ । यो देशभक्त नेपालीले बुझेका छन् । यो जनादेशबाट बनेको सरकार होइन्, यो सरकारलाई यस्ता काम गर्ने अधिकार छैन् ।



प्रतिक्रिया दिनुहोस्