Logo

एमाले महाधिवेशनमा रावलसहित १० नेताको के होला ?



काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको मंसिरमा तय भएको महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली दोहोरिने निश्चितप्रायः भइसकेको छ । एमाले विधान नै ओली अध्यक्षमा दोहोरिने गरी बनाइएको छ ।

अब ओलीलाई अध्यक्षमा कसैले पनि चुनौती दिन सक्ने सम्भावना कमजोर छ । अध्यक्षमा प्रतिष्पर्धी निस्किएपनि औपचारिकतामा सिमित हुन सक्छ । ओलीविरुद्ध अध्यक्षमा उम्मेदवार भएमा विगतमा माधव नेपाल पक्षधर रहेका १० नेतामध्येबाट हुने सम्भावना छ । तर, उनीहरु पनि आगामी महाधिवेशनमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न तर्फ लागेका छन् । १० नेताहरुलाई कि त एमालेभित्र ओलीको मन जितेर स्थान सुरक्षित गर्नुपर्ने कि त पार्टी नै छाड्नुपर्ने वाध्यता बन्न सक्छ ।

एमालेको नवौं महाधिवेशनमा माधव नेपाल अध्यक्षमा पराजित भएपनि उनी पक्षधर नेताहरु बहुमत संख्यामा निर्वाचित भएका थिए । भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली उपाध्यक्षमा, घनश्याम भुसाल उपमहासचिवमा, गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य सचिवमा र महासचिवमा पराजित सुरेन्द्र पाण्डे स्थायी कमिटी सदस्य बनेका थिए । अमृतकुमार बोहेरा अनुशासन कमिटीको प्रमुखमा निर्वाचित भएर पदेन स्थायी कमिटी सदस्य बनेका थिए । रघुजी पन्त पनि पछि स्थायी कमिटी सदस्य बनाइए ।

अब एमालेको विधानले १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव गरी १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ । यी पदहरुमा हस्ती नेताहरुको दाबी रहने निश्चित छ । ओली पक्षका नेताहरुले नै यी सबै पदाधिकारीमा चुनाव जित्ने अवस्था छ । ओलीइतर समूह कमजोर भएकाले ओलीको चाहनामा को को पदाधिकारी निर्वाचित हुने पहिल्यै टुंगो लाग्ने निश्चितप्रायः छ ।

एमालेको अहिलेको संगठनात्मक प्रभावले रावलसहित कुनै पनि ओलीविरोधी नेताहरु पदाधिकारीमा निर्वाचित हुने सम्भावना न्यून छ । यस्तो अवस्थामा एमाले विभाजनको विपक्षमा उभिएर ओलीसँग संघर्ष गर्ने निर्णयमा पुगेर कठोर निर्णय लिएका १० नेताहरुको राजनीतिक अझ कठिन हुँदैछ । रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि लिखित रुपमै जनाएका छन् । अष्टलक्ष्मी शाक्य ओलीको भावना विपरित माधव नेपाललाई पुनः एमालेमा ल्याउनुपर्नेमा जोड दिदै आएकी छिन् । यस्तो अवस्थामा रावलसहितका १० नेताले एमालेको महाधिवेशन अघि नै विद्रोह गर्ने हुन् या एमालेमै रहने हुन् चासोको विषय छ ।



प्रतिक्रिया दिनुहोस्