Logo

शंकर पोखरेल एमाले महासचिवको मुख्य दाबेदार



काठमाडौं, ६ कात्तिक । नेकपा एमालेमा शंकर पोखरेल भावी महासचिवका मुख्य दाबेदार देखिएका छन् । मंसिरमा तय भएको १०औं महाधिवेशनमा उनले महासचिवमा उम्मेदवारी दिने सम्भावना देखिएको छ । विद्यार्थी राजनीतिबाट एमाले राजनीतिमा उदाएका पोखरेल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पनि हुन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले पोखरेललाई महासचिवमा अगाडि बढाउन चाहेका छन् । वैचारिक नेताको परिचय समेत बनाएका पोखरेल लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री पनि हुन् ।

एमालेको प्रभावशाली नेता पोखरेलको राजनीतिक भूगोल दाङ हो । उनले एमाले विभाजन हुन नदिन सक्रिय भूमिका निभाएका थिए । अन्तरपार्टी सम्बन्ध समेत बलियो बनाएका शंकर पोखरेल लामो समययता ओलीनिकट रहँदै आएका छन् ।

ओलीलाई कठिन घडीमा समेत साथ दिएकाले उनलाई अगाडि बढाउने पक्षमा छन् । पोखरेललाई एमालेको भविष्यमा नेतृत्व लिनसक्ने नेताका रुपमा पनि हेरिएको छ । तर, आफ्नो व्यक्तिगत गुट र पकड मजबुत बनाउन नसक्नु उनको कमजोरी हो । व्यवहारिक भन्दा सैद्धान्तिक राजनीतिमा बढी भर पर्दा उनलाई केही चुनौती भने छ ।



प्रतिक्रिया दिनुहोस्