Logo

ओलीले विष्णु पौडेल, सुवास नेम्वाङ र बादललाई कसरी व्यवस्थापन गर्लान् ?



काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनमा को कुन पदमा उम्मेदवारी बन्नेबारे बहस चलिसकेको छ । मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुने महाधिवेशनमा अध्यक्षसहित १५ पदाधिकारी मुख्य चासोको पद हो ।

ओली अध्यक्षमा दोहोरिने निश्चित नै छ । ओलीकै चाहना अनुसार बाँकी १४ पदमा पदाधिकारी निर्वाचित हुने अवस्था छ । एमालेमा ९० प्रतिशत पकड ओलीकै देखिन्छ ।
वरिष्ठ उपाध्यक्ष र महासचिवमा प्रभावशाली नेताहरुको दाबी छ । ओलीले आफ्ना विश्वासपात्रहरु विष्णु पौडेल र सुवास नेम्वाङलाई कुन पदका लागि बढाउनलान् चासोको विषय छ । विश्वस्त स्रोतका अनुसार पौडेल र नेम्वाङलाई उपाध्यक्षमा बढाउने ओलीको चाहना रहेको छ ।

पौडेल तत्कालीन नेकपाका महासचिव हुन् । उनी पूर्व उपप्रधानमन्त्री समेत हुन् । नेम्वाङ स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता हुन् । सभामुखको अनुभव समेत सम्हालेका छन् ।

बादल पूर्वमाओवादी नेता हुन् । कठिन घडीमा ओलीलाई साथ दिएकाले उनले एमालेमा निकै महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । पूर्वगृहमन्त्री समेत रहेका बादललाई एमालेको उपाध्यक्षमा बढाउने ओलीको चाहना रहेको बुझिएको छ । उनकै चाहना अनुसार ओली चितवनमा एमाले महाधिवेशन गर्न तयार भएका थिए ।

वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्षमा ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा बादलको सम्भावना बलियो छ । तर, यी हस्ती नेताहरुको चाहना वरिष्ठ नेता बन्नेमा छ । महासचिवमा पनि केहीको चाहना छ । यसलाई व्यवस्थापन गर्न ओलीलाई चुनौती छ । तर, ओलीको बलियो पकड रहेकाले उनको निर्देशनलाई कुनैपनि नेताले नकार्ने सम्भावना कमजोर छ ।



प्रतिक्रिया दिनुहोस्