Logo

संयुक्त राष्ट्रसङ्घ दिवस : सेनाद्वारा पाँचखालका विशेष कार्यक्रम



– नारायण न्यौपाने काठमाडौँ, ६ कातिक : संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस(अक्टोबर २४) का अवसरमा नेपाली सेनाले आइतबार काभ्रेकोे पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ । विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो ।

नेपालले भने सन् १९५५ डिसेम्बर १४ (विस २०१२ मङ्सिर २९)मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको हो । हाल राष्ट्रसङ्घका १९३ सदस्य र दुई पर्यवेक्षक मुलुक छन् । राष्ट्रसङ्घ स्थापना दिवसका अवसरमा केन्द्र परिसरमा झण्डोतोलनका साथै शान्ति स्थापना कार्यमा खटिने क्रममा निधन हुनेको योगदानको स्मरण गरी सम्मान प्रकट गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

रक्षामन्त्री डा मीनेन्द्र रिजाल, प्रधानसेनापति प्रभुराम शर्मा, यहाँस्थित संयुक्त राष्ट्रसङ्का आवासीय संयोजक सारा बेइसोलो न्यान्ती, विभिन्न दूतावासका प्रमुख एवं प्रतिनिधिको सहभागीता हुने उक्त कार्यक्रममा राष्ट्रसङ्घको भूमिका र योगदानको चर्चा गरिनेछ । शान्ति स्थापना कार्यमा कार्यस्थलमा खटिएकै अवस्थामा विद्रोही समूहको गोलीबाट निधन भएका मानार्थ प्रमुख सेनानी कविन्द्र थापालाई प्रदान गरिएको ‘ड्याग ह्यामर शोल्ड मेडल’ उहाँका परिवारबाट केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसङ्घ विश्वका सबै सदस्य मुलुकको साझा अन्तराष्ट्रिय संस्था हो । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको राष्ट्रसङ्घमा हाल महासचिव एन्टोनियो गुटेरेस हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको सबैभन्दा महत्वपूर्ण अङ्ग सुरक्षा परिषद्मा अमेरिका, चीन, रुस, बेलायत र फ्रान्स सदस्य छन् । नेपालसँग सन् १९६७–१९६८ र १९८८–१९८९ मा सुरक्षा परिषद्को अस्थायी सदस्यका रुपमा काम गरेको अनुभव छ । उक्त परिषद्मा १० मुलुक अस्थायी सदस्य छन् ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पठाएर योगदान पु¥याउँदै आएको छ । पूर्वराजदूत दिनेश भट्टराई संयुक्त राष्ट्रसङ्घ नेपालजस्ता मुलुकका लागि आफना धारणा निर्भिकताका साथ विश्वसमुदायलाई सुनाउने महत्वपूर्ण मञ्च भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले शान्ति स्थापनाका लागि गरेको योगदानको विश्व समुदायबाट मुक्त कण्ठले प्रसंशा हुँदैआएको छ, बडापत्र, सिद्धान्त र उद्देश्यप्रति समर्पित भएर काम गरेकाले राष्ट्रसङ्घमा योगदानअनुरुपको हैसियत र प्रतिनिधित्व बढाउन प्रयत्न गर्नुपर्ने देखिन्छ ।” द्वन्दरत मुलुकमा स्थापना भएका ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन् । हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तर्फबाट पनि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा गौरव गर्न लायक योगदान भइरहेको छ ।

शान्ति स्थापनाका सिलसिलामा ६८ नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ गम्भिर घाइते भएको सेनाले जानकारी दिएको छ । अहिले शान्ति सैनिक धेरै सङ्ख्या पठाउने मुलुकको सूचिमा नेपाल दोस्रो वरियतामा छ । राष्ट्रसङ्घबाट माग भई आएमा नेपालले १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।

सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग गर्ने उद्देश्यले राष्ट्रसङ्घ स्थापना भएको हो । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी भन्नुहुन्छ, “संयुक्त राष्ट्रसङ्घको आह्वानअनुरुप शान्ति स्थापनामा नेपालको प्रशंसनीय योगदान रही आएको छ ।” संयुक्त राष्ट्रसङ्घले नेपालको शिक्षा, स्वास्थ्य, गरीबी निवारण, क्षमता अभिवृत्तिलगायत मानवीय सहायताका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्