Logo

ओलीको उत्तराधिकारी को ?



समाचार विश्लेषण । नेकपा एमालेमा दोस्रो पुस्ताका नेताहरुमा अझै नेतृत्व नपुग्ने निश्चितप्रायः भएको छ । अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने गरी विधान संशोधन भइसकेको छ । मंसिर १०, ११ र १२ गते महाधिवेशन भई ओलीलाई नै नेतृत्वमा ल्याउने र सम्भवतः एघारौं महाधिवेशनमा मात्र नेतृत्व दोस्रो पुस्तामा जाने अवस्था निर्माण भएको छ ।

ओली एमाले अध्यक्ष पुनः निर्वाचित भएमा कम्तिमा ५ वर्ष एमालेमा नयाँ नेतृत्व नआउने निश्चित प्रायः छ । त्यसमाथि ओलीले एमालेमा आफ्नो वर्चश्व बलियो बनाइसकेका छन् । उनलाई चुनौती दिने हिम्मत र पकड भएको नेता अझै केही वर्ष नदेखिने निश्चित जस्तै छ ।

एमालेभित्र ओलीपछि को ? यो बहस भने विस्तारै चल्न सक्छ । ओलीलाई कठिन घडीमा साथ दिने विश्वासिला नेताहरु उत्तराधिकारी बन्ने दौडमा छन् । तर, ओलीले कुनैपनि नेतालाई स्पष्ट रुपमा आफ्नो उत्तराधिकारीको रुपमा संकेत गरेका छैनन् । १०औं महाधिवेशनमा भने त्यो संकेत गर्ने सम्भावना छ ।

एमाले विधानले वरिष्ठ उपाध्यक्ष पद तय गरेको छ । त्यो पदमा पुग्ने ओलीपछि दोस्रो वरियतामा रहनेछ । सम्भवतः ओलीको बलियो उत्तराधिकारी त्यही नेता हुनेछ ।
वरिष्ठ उपाध्यक्षमा हालका महासचिव ईश्वर पोखरेल मुख्य दाबेदार देखिएका छन् । नवौं महाधिवेशनमा ओली समूहबाट महासचिवमा निर्वाचित पोखरेलको एमालेभित्र सांगठनिक पकड बलियो छ । उनी सरकारमा उपप्रधानमन्त्री सम्म भइसकेका छन् । पटक पटक मन्त्री भएका पोखरेललाई ओलीको उत्तराधिकारीको रुपमा लिइएको छ । तर, ओलीका भित्री समूहबाट भने उनी केही टाढा छन् । त्यसैले ओलीको भित्री समूहले स्वीकार्ने सम्भावना कम छ ।

उपमहासचिव विष्णु पौडेल नेकपा हुँदा महासचिव थिए । उनी ओलीले रुचाएका नेतामध्ये पर्छन् । ओलीलाई लामो समययता साथ दिदै आएका पौडेल भविष्यमा एमालेको नेतृत्वमा पुग्ने सम्भावित नेतामध्ये हुन् । समन्वयकारी भूमिका निभाउन सक्ने पौडेल दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये एक हुने निश्चितप्रायः छ । उनले ओलीको विश्वास जितेका त छन् तर चुनौतीहरु धेरै छन् ।

पूर्वसभामुख सुवास नेम्वाङ ओलीका अर्का विश्वासपात्र हुन् । एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ चतुर नेता मानिन्छन् । ओलीलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि साथ दिने गरेका छन् । उनी पनि ओलीको उत्तराधिकारीका रुपमा अगाडि बढ्न खोजिरहेका छन् ।

एमाले नेता शंकर पोखरेल ओलीले सबैभन्दा विश्वास गरेकामध्येका हुन् । ओलीलाई निरन्तर साथ दिदै आएका पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत भए । बोलीमा दम भएका पोखरेलको गुट भने कमजोर छ । तर, ओलीले उनलाई अगाडि बढाउन खोजेको देखिन्छ । दशौं महाधिवेशनमा ओलीले पोखरेललाई महासचिवमा अगाडि बढाउने सम्भावना देखिदैछ । उनी ओलीको सम्भावित उत्तराधिकारीमध्येका एक हुन् ।



प्रतिक्रिया दिनुहोस्