Logo

प्रदेश १: मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै



विराटनगर, कार्तिक ७ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि आज मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । आचार्य मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । एमाले विभाजन भएपछि उनले बहुमत जुटाउन नसक्ने अड्कल गरिँदै आएको छ ।

गत असोज २५ गते संवैधानिक प्रावधान अनसार आचार्यले विश्वासको मत चाहिएको प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए । भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको प्रतिपक्षी दलहरूको आरोप छ ।

प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन । संसद्मा स्पष्ट बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा बसेको छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot