Logo

नेपाल–भारत लिंक रेलवे योजनाः रेल चलाउन कानूनको पर्खाइ



काठमाडौं, कार्तिक ७ । नेपाल–भारत लिंक रेलवे योजना अघि सारिएको दशकपछि करीब ३५ किलोमीटर (किमी)को जयनगर–कुर्था रेलखण्ड भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । भारत सरकारले अनुदानमा बनाइदिने भन्दै अघि सारिएका विभिन्न ५ लिंंक रेलवेमध्ये यो खण्ड शुक्रवार हस्तान्तरण गरिएको हो ।

शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त रेल खण्ड हस्तान्तरण गरेका हुन् । उक्त रेल खण्ड ८ अर्ब ७७ करोड रुपैयाँँमा निर्माण भएको उल्लेख गरिएको छ ।

जयनगर–बर्दिवाससम्मको लिंकमध्ये भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३५ किमी संरचना हस्तान्तरण गरिएको हो । यो लिंक कुल ६९ किमी छ । यो लिंकमा पर्ने ३४ किमी रेलखण्ड हस्तान्तरण हुनै बाँकी छ । रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले यो लिंक रेलवेको एउटा पाटो मात्रै हस्तान्तरण भएको भन्दै ३४ किमीको काम बाँकी रहेको बताए ।

कुर्थादेखि बिजलपुरासम्म १७ किमी र बिजलपुरादेखि बर्दिवाससम्मको १७ किमी हो । दोस्रो खण्डमा निर्माण भइरहेको कुर्थादेखि बिजलपुरासम्मको रेल खण्डको ९० प्रतिशत काम सम्पन्न भएको उनले बताए । भारतीय पक्षले यो वर्षको डिसेम्बरसम्ममा बाँकी १० प्रतिशत काम सम्पन्न गर्ने भनिरहेको उनको भनाइ छ ।

यसैगरी बिजलपुरदेखि बर्दीवाससम्मको खण्डको बर्दिवास स्टेशनको जग्गाको समस्या २ महीनाअघि समाधान भएको भन्दै उनले अहिले दर निर्धारणको काम भइरहेको बताए । विगत ५ वर्षदेखि यो खण्डमा जग्गामा समस्या हुँदै आएको थियो ।

जग्गाहरूको दर निर्धारण भएसँगै मुआब्जा वितरणको विषयले प्रवेश पाएको छ । दर निर्धारणको कामसँगै बिजलपुरादेखि बर्दिवाससम्मको रेल खण्डको निर्माणले गति लिने उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्