Logo

भीम रावललाई निरन्तर धक्का, एमालेमा टिक्लान् ?



काठमाडौं, ७ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावल खरो बोली बोल्ने नेताका रुपमा परिचित छन् । तथ्यसहित प्रस्तुत हुने रावलले बोलीसँगै राजनीतिक पकड पनि बनाए । राष्ट्रिय अन्तर्राष्ट्रि राजनीतिको ज्ञान राख्ने रावलले पिएचडी पनि गरे । यसले उनको बोलीमा अझ बल थप्यो ।

रावल एमाले एक हुँदा पकडका हिसाबले तेस्रो शक्तिशाली नेता थिए । सबैभन्दा बलियो पकड अध्यक्ष केपी शर्मा ओलीको थियो । त्यसपछि तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको थियो । उनी तेस्रो स्थानमा थिए । सुदूरपश्चिम र कर्णाली प्रदेशमा रावलको पकड थियो ।

तत्कालीन नेकपामा केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने रावल नै थिए । कतिपयले रावललाई प्रमुख प्रतिपक्षी दलको नेता नै जस्तो ठान्थे । ओलीको खरो विरोध गरिरहँदा उनी माधवकुमार नेपाल पक्षमा मजबुत ठहरिए ।

नेकपा विभाजन हुँदा रावलले माधव नेपालको साथ दिएनन् । उनले एमालेमै रहेर संघर्ष गर्ने कठोर निर्णय लिए । उनले माधव नेपाल पक्षधरबाट ठूलो आलोचना खेप्नुपरेको थियो । गद्दार सम्मको आरोप लाग्यो ।

हुनपनि माधव नेपाल नवौं महाधिवेशनमा अध्यक्षमा चुनाव लड्दा रावल सोही समूहबाट उपाध्यक्षका उम्मेदवार थिए । उनले उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने मौका पाए । बामदेव गौतम, विद्या देवी भण्डारी जस्ता हस्ती नेताहरुको भन्दा रावलको मत बढी थियो । यसले उनलाई एमालेको भावी अध्यक्षका मुख्य दाबेदार बनाइदियो ।

पकडको हिसाबले रावल तेस्रो शक्तिशाली बनिसकेका थिए । ओली र नेपालपछि रावल गुट बलियो थियो । सुदूरपश्चिम प्रदेशमा बहुमत सांसद उनको पक्षमा थिए । संघीय संसदमा पनि उनी पक्षधर सांसदहरु थिए । प्रदेशमा उनी पक्षधरले नै साथ छाडे । रावल कमजोर सावित भए ।

एमाले र माओवादी एकीकरण भई नेकपा बन्दा रावलमाथि धक्का लागेको थियो । उनी सचिवालय सदस्य समेत बनाइएनन् । तर, उनी निरन्तर संघर्षमा उत्रिए । यति धेरै संघर्ष र विद्रोहका बोली बोल्दै गएकी उनलाई दुरगामी राजनीतिमा नकारात्मक असरहरु पर्न थाल्यो ।

अहिले रावल नेकपा एमालेमा छन् । तर, उनको पकड झन् कमजोर देखिएको छ । माधव नेपालको साथ छाड्दा उनी ओलीविरुद्ध जुध्दा निकै कमजोर सावित भएका छन् । ओलीले उनलाई अझै पेल्ने सम्भावना बढेर गएको छ । माधव नेपालले उनको नाम नलिई हरबिजोग भएको टिप्पणी गरेका छन् । एमालेमा ओली पक्षको पेलाईमा पर्दै गए रावलको हालत माधव नेपालले भनेजस्तै नहोला भन्न सकिदैन । तर, उनले यसबीच नै विद्रोह गर्ने सम्भावना पनि देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्