Logo

मखमली टिप्ने चटारो



भक्तपुर, कार्तिक ७। सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री तथा गोदावरीको सुगन्धले मगमगाएको छ । तिहार आउन अझै १५ दिन बाँकी छ तर यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी यतिबेला निकै व्यस्त छन् ।

यस भेगका खेतबारी, करेसाबारी, टनेलका भुुँइ सेता, गुलावी, पहेँला, मरुन रङ्गीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याई छ । किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोप्दै आएको २० वर्षभन्दा बढी भएको अगुवा फूल किसान अनिता बस्नेत बताउन्छिन् ।

हाल व्यावसायिक रूपमै टनेल बनाएर फूल व्यवसाय गर्ने व्यवसायी पनि बढ्दै छन् । यस क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् । असोज र कात्तिक (तिहार) अगाडि फूल टिप्ने र गाँस्ने काम चलिरहेको छ ।

नेपालका अन्य क्षेत्रमा धान खेतको आलीमा मास, भटमास र बोडी रोप्ने चलन हुन्छ भने यहाँका किसानले मखमली फूल नै रोप्ने गरेका छन् । तिहारको विशेष आकर्षण तथा महत्वका मखमली, सयपत्रीको फूलको रौनकले गाउँ नै रङ्गीन छ । बिहान फूल टिप्ने र दिनको समयमा फूलको माला बनाउन यहाँका किसान एक÷अर्कामा अर्मपर्म नै गर्छन् । मखमलीको माला नओइल्याउने भएकाले माला गाँस्ने काम धमाधम भइरहेको हो ।

साँस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौ)लाई ध्यानमा राखी स्थानीयवासीले फूल रोप्दै आएका छन् । फूलकै माध्यमबाट गाउँमै महिलाले राम्रो आयआर्जन गर्दै आएको फूल व्यवसायी रचना बस्नेतको भनाइ छ । उनले विगत १० वर्षदेखि मखमली फूल रोप्दै आएकी छन्। धान, मकै खेती गर्नुभन्दा फूलखेतीमा करिब आठगुना बढी नै आर्थिक लाभ लिन सकिने उनको अनुभव छ ।

फूल खेती गर्ने किसानले वार्षिक १५ हजारदेखि ५५ हजार रुपैयाँसम्म प्रतिएक घरले कमाउँछन् भने व्यावसायिक रूपमा खेती गर्नेले दुई लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको आजको गोरखापत्र दैनिकमा खवर छ । file photo



प्रतिक्रिया दिनुहोस्