Logo

फोहोरी खेलमा नेतृत्व लिप्त हुँदा कांग्रेसमाथि प्रश्न उठ्न थालेको छः प्रकाशमान सिंह



काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् । जनकपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले १३औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए ।

केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाई थियो । पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने चेतावनी सिंहले दिए । तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा उनको जोड थियो ।
आफ्नो स्वार्थ परुा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे ।

१४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने दृढता देखाउँदै सिंहले भने, ‘महाधिवेशन शुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो ? परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ ।’

महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य नहुने चेतावनी दिँदै सिंहले भने, ‘१४औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ । म सभापतिको अभियानमा होमिइसकेँ ।’ पार्टीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको भन्दै उजले भने, ‘ए कांग्रेस, बी कांग्रेस भन्ने गूटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’

फरक प्रसंगमा बोल्दै नेता सिहले कांग्रेस नेत्त्रित्वको कमजोरीका कारण कम्युनिस्ठहरुले ब्यवस्था माथि प्रहार गर्ने सुरु गरेको बताए । हर हालतमा कांग्रेस महाधिवेशन सम्पन्न गरेर संसद संचालन र रास्ट्रिय राजनीति आँकलन गरेर अगाडि बिकसित परिस्थिति अनुरुप चल्नु पर्ने बताएका छन् ।

साथै नागरिकता लगायत मधेसका मुद्दाहरु विधि प्रक्रियामा अवलम्बन गरेर तत्कालै हल गर्नु पर्ने भन्दै मधेस र हिमाली क्षेत्रमा सिमाना जोडिएका नागरिक नै सच्चा देश भक्त रहेको समेत बताएका छन् । नेता सिह आज महोत्तरीमा आज आयोजित कार्यक्रममा सभागि हुने क्रममा जनकपुर पुग्नु भएको हो । नेता सिह को साथमा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव र किरण यादव समेत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्