Logo

समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित



चितवन, ७ कात्तिक । जिल्लाका सरकारी र अन्य निजी अस्पतालमा मिर्गौलाका बिरामीले समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । मिर्गौलापीडित सरोकार समाज, नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको मिर्गौला रोग सचेतना कार्यक्रममा सहभागी पीडितले यस्तो गुनासो गरेका हुन ।

अस्पतालमा उपचारका क्रममा पालो कुर्दाकुर्दै मिर्गौला पीडितले मृत्युवरण गर्नुपर्ने उनीहरुको गुनासो थियो । समाजका सचिव जीवनाथ पराजुलीले निजी अस्पतालमा मिर्गौलाको उपचार महँगो हुने र सरकारी अस्पतालमा पालो कुर्नुपर्ने बाध्यताका कारण बिरामीले मृत्युवरण गर्नुपर्ने समय आएको बताए ।

उनले गुनासो गरे, “सरकारीमा पालो पाइदैन, निजी अस्पतलले सम्झौता भएको छैन भन्दै नयाँ बिरामीको उपचार प्रक्रिया सुरु नै गर्दैनन् ।” साउनयता निजी अस्पतालले नयाँ बिरामी भर्ना नगर्दा समस्या आएको उनले बताए । भरतपुर अस्पतालमा उपचार गराइरहेका बिरामीको निःशुल्क डायलासिस हुने भए पनि निजी अस्पतालमा यो सेवा एक पटकमा रु १० हजारसम्म खर्च हुने भएकाले महँगो भएको उनको गुनासो थियो ।

नवलपुरका टीकाराम भट्टराई विगत नौ वर्षदेखि छोरीको मिर्गौलाको डाइलासिस गर्दै आएका छन् । भरतपुर अस्पतालमा पालो नपाएपछि उनी निजी अस्पतालमा उपचार गराइरहेका छन् । निजी अस्पतालमा उपचारका क्रममा ठूलो रकम खर्च भएकाले सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपणको काम सुरु गर्नुपर्ने उनले बताए । बिरामीको चाप बढ्दै जाँदा उपचार पाउने सम्भावना कम बन्दै गएकाले सेवा विस्तार गरेर भए पनि उपचार सेवा रोक्न नहुने उनको गुनासो थियो । रासस



प्रतिक्रिया दिनुहोस्