Logo

प्रचण्डले प्रधानन्यायाधीश जबरासँगको भेटमा के के कुरा गरेका थिए



काठमडौं, ७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग गरेको भेट चासोमा परेको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि प्रचण्ड सँगैको निवासमा जबरालाई भेट्न पुगेका थिए ।

आज बार एशोशिएसनका पदाधिकारीसँगको भेटमा पनि जबराले प्रचण्डसँग भेटेको स्वीकारेका छन् । प्रचण्ड आफैले सम्पर्क गरी भेट्न आएको उनको भनाई थियो । उक्त भेट केही महत्वपूर्ण मुद्दाका विषयसँग जोडिएको बुझिएको छ । प्रचण्डले नै समय मागेर जबरालाई भेटेका थिए । तर, त्यो भेट बाहिर खुल्यो ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा १५ कात्तिकमा अन्तिम किनारा लाग्ने भएको छ । त्यसमा प्रचण्डले चासो लिएको चर्चा छ ।

नेकपा एमालेको विभाजनसम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ । अड्किएको यो मुद्दामाथि पनि राजनीतिक दलका शिर्ष नेताहरुको चासो छ ।

संवैधानिक परिषदले संवैधानिक निकायमा गरेका नियुक्तिका सम्बन्धमा पनि अदालतले एकपछि अर्को मुद्दाबाट अलमल गराएको विषय उठेको छ । नियुक्ति खारेजको पक्षमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत नेताहरु छन् । नियुक्ति खारेज हुन नदिन ओली लागेका छन् ।

प्रचण्डले यी मुद्दाका विषयमा पनि चासो राखेको बुझिएको छ । अर्कोतर्फ, सभामुख अग्निप्रसाद सापकोटामाथि अर्जुन लामा हत्या प्रकरणमा आरोप लगाउँदै मुद्दा हालिएकोमा अदालतमा विचाराधीन छ । यसमा पनि प्रचण्डको चासो बन्दै आएको छ ।

पछिल्लो समय प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको संकेत पनि गरिएको छ । मुद्दाका सम्बन्धमा असन्तुष्टहरुले उनीविरुद्ध महाभियोगको डर पनि देखाइरहेका छन् । एकातर्फ प्रधानन्यायाधीश जबरा आफै अप्ठ्यारोमा छन् । अर्कोतर्फ, आफूविरुद्धको घेराबन्दी तोड्न कठोर कदमहरु चाल्नसक्ने गरी तयारी अवस्थामा छन् ।

 



प्रतिक्रिया दिनुहोस्