Logo

प्रधानन्यायाधीश राणाको ‘मार्गप्रशस्त’ खोजीमा सर्वोच्चकै न्यायाधीश



काठमाडौं, कार्तिक ८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नै कारण संकटमा पुगेका छन् । प्रधानन्यायाधीश राणाले आफ्नो व्यक्तिगत स्वार्थ र राजनीतिक नियुक्तिमा भाग खोजेर न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरू उनको विपक्षमा उभिएका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशले ‘मार्गप्रशस्त’ नगरे इजलास बहिष्कार गर्नेसम्मको संकेत दिइसकेका छन् ।

प्रधानन्यायाधीश राणाले आफू चौतर्फी घेराबन्दीमा परेपछि आइतबार नेपाल बार एसोसिएसनका प्रतिनिधिसँग भेटेका थिए । भेटमा सोमबारका लागि ‘फुलकोर्ट’ बैठक राखेर हाल देखिएको समस्या समाधान गर्ने चाहना राखेका थिए । तर, सर्वोच्चका १४ जना न्यायाधीशले सोमबारको ‘फुलकोर्ट’ बैठक बहिष्कार गर्ने संयुक्त निर्णय गरेसँगै प्रधानन्यायाधीश राणा थप नैतिक संकटमा परेका हुन् ।

आइतबार नै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई सोमबारको फुलकोर्ट बैठकको मेमो पठाइएको छ । सो मेमोमा न्यायपालिका सुधार कार्यदलको प्रतिवेदन र वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्ने विषय छन् । सोमबार बस्ने बैठकको सूचना आएलगत्तै सर्वोच्चमा उपस्थित भएका सबै न्यायाधीशको अनौपचारिक छलफलले ‘फुलकोर्ट’ बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि रोकिएको वरिष्ठ अधिवक्ता उपाधिको एजेन्डा प्रधानन्यायाधीश राणाले नेपाल बारका प्रतिनिधिलाई भेटेपछि ल्याएका हुन् । आफूमाथि संकट आएपछि प्रधानन्यायाधीश राणाले विरोधको स्वर मत्थर बनाउनका लागि सो विषय ल्याएको सर्वोच्चका एक न्यायाधीशले बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्