काठमाडौं, कात्तिक ८ । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले सर्वोच्च अदालतका १४ बहालवाला न्यायाधीशले फुलकोर्ट बहिष्कार गर्नु दुःखद र अनपेक्षित घटना र प्रतिघटना भएको बताएका छन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “यस घटनाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमन सुखद हुँदैन कि भन्ने संकेत देखापरेको छ । मेरो विचारमा यो प्रधानन्यायाधीशले प्रधानमन्त्रीसँग भाग मागेको नौलो घटनाको नौलो परिणाम हो ।”
१४ न्यायाधीश फुलकोर्टमा नबस्ने भए पनि नेपाल बार सहभागी हुने कुराले जनताको आवाज बारले बोक्छ कि बोक्दैन भन्ने मूल्यांकन हुने उनले बताए । उनले भने, “बारभन्दा जनता, नागरिक समाज, न्यायकर्मी र सञ्चारमाध्यम धेरै अगाडि बढिसकेका छन् । आजको स्थितिमा बारले प्रधानन्यायाधीशको काँध थाप्न सक्छ जस्तो लाग्दैन । प्रधानन्यायाधीशले राजीनामा दिने बाध्यात्मक परिस्थिति आयो । अब उहाँले सुरक्षित अवतरण रोज्नुभएन भने स्थिति अझै नकारात्मक हुनेछ । बाढी, आँधी, हुरीले कसलाई कहाँ पुर्याउँछ, यसै भन्न सकिँदैन ।”
आफू विगतदेखि नै न्यायापालिका शुद्धीकरण लागेको उनले बताए । उनले भने, “उहाँ रञ्जन कोइरालाको पत्नी हत्या मुद्दामा सजाय घटाउन लाग्नुभयो । सडक आन्दोलनबाटै फ्याँकिने अवस्था आउँदा बारले उहाँलाई सदासयता राखेको हो ।
पछि रञ्जन कोइरालाले छुटेपछि त्यस विरुद्ध परेको मुद्दामा तीन चोटि पेसीमा चढाउँदा पनि उहाँले हटाउनुभयो । पछि कार्यपालिका प्रमुखसँग कुममा कुम जोडेर संवैधानिक नियुक्तिमा हिस्सेदारी लिनुभयो । त्यस विरुद्ध परेको मुद्दामा १० महिनासम्म सुनुवाइ गर्नुभएन । नेपाल बारसँगकै छलफलमा एक बिचौलियाको साटो गजेन्द्र हमालको नाम लिनुभयो । प्रधानन्यायाधीशले जसरी शक्ति अभ्यास गर्न खोज्नुभएको छ, त्यो गलत छ ।”
हरेक प्रधानन्यायाधीशसँग प्रधानमन्त्रीले सेटिङ गर्न चाहनु स्वाभाविक भए पनि त्यसलाई परास्त गर्ने कि झुक्ने भन्ने कुरामा उच्च नैतिक चरित्र र हिम्मत देखाउनुपर्ने उनले बताए ।




प्रतिक्रिया