Logo

दमौली अस्पताललाई बाह्ररोपनी जग्गा दिलाउन पहल



तनहुँ, ७ कात्तिक: व्यासनगरपालिकाले दमौली अस्पताललाई नपुग करिब बाह्र रोपनी जग्गा उपलव्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । व्यास नगरपालिकाको नियमित बैठक नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

अस्पताललाई नपुग जग्गा कृषि विकास कार्यालय र पशु विकास कार्यालय, तनहुँबाट उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

पचास श्यया क्षमताको अस्पताल बनाउनको लागि उक्त बाह्र रोपनी अपुग देखिएपछि पहलकदमी थालिएको उनले बताए । दमौली अस्पतालमा १५ श्ययाको लागि स्वीकृति भए पनि ४२ श्यया चलाउदै आएको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले जानकारी दिए । पचास श्यया (सेकेन्डरी लेभल)को अस्पताल बनाउन कम्तीमा ३५ रोपनी जग्गा आवश्यक पर्ने भएपनि अस्पतालको लालपुर्जा चार रोपनी र चर्चिदै आएको सार्वजनिक जग्गा समेत गरी १५ रोपनी १४ आना रहेको उनले बताए ।

त्यसैगरी उक्त बैठकले गत असोज २२ गते भएको कार्यपालिका बैठकका निर्णयको समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी रहेका विषयमा सम्बन्धित शाखालाई कार्यान्वयन प्रकिया अघि बढाउन निर्देशन दिइएको छ । नगरपालिकाको मूलभवनमा तला थप, व्यास नगर कोभिड अस्पताल लगायतका योजनाको बोलपत्र प्रक्रियाको प्रतिवेदन एवं अन्य काम सम्पन्न नभएका स्वीकृत योजना र अब बोलपत्र गर्नुपर्ने कार्यको समीक्षा गरेको छ ।

साथै बैठकले योजनाकार्यलाई छिटो सम्पन्न गर्न पूर्वाधार विकास शाखालाई निर्देशन दिने निर्णय गरेको छ । ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर २०७८ कात्तिक ११, १२ र १३ गते दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयमा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । दमौली वरपर पराशर आश्रम क्षेत्र, अनशन चौतारी– सेन्ट्रल पार्क, बिपी वन वाटीका खेलमैदानमा सहरी हरियाली परियोजना प्रस्तावको लागि सङ्घीय वन तथा वातावरण मन्त्रालय सिंहदरबारमा पेश गर्ने निर्णय भएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्