Logo

हामीले पनि त केपी शर्मा ओलीलाई नाजुक स्थितिमा समर्थन गरेका हौं : मणिचन्द्र थापा



नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री मणिचन्द्र थापाले नेकपा (एमाले) लाई सही अर्थमा जनताको बीचमा लैजानुपर्ने र सोहीअनुसार अग्रगामी भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले पूर्व एमालेमा देखिएको झगडा बेठिक भएको आफूहरुको भनाई रहेको पनि सुनाए । हिजो (आईतबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले एमालेमा को मूलाधार भन्ने बहस चलेको पनि सुनाए । यसले पार्टीलाई फाईदा नपुग्ने उनको भनाई छ। कुराकानीको क्रममा उनले भनेका छन्–‘अहिले एमालेभित्र हामी पुर्व माओवादी र माधव नेपाल कमरेडलाई समर्थन गर्ने साथीहरु र पुरानो एमाले यी तीन वटामा पुरानो एमालेले हामी नै मुलधार हौं भन्ने, १० बुँदेमा आउने साथीहरुले हामी हौ मुलधार भन्ने अनि हामीले पनि त केपी शर्मा ओलीलाई नाजुक स्थितिमा समर्थन गरेका हौं । हाम्रो पनि अधिकार छ भनेर अधिकारकै लडाईँमात्र लड्ने अनि कर्तब्य नसम्झिने भने त पार्टीको के अर्थ भयो र ? त्यसकारण समग्र कम्युनिष्ट पार्टी कसरी बनाउने भन्नेतिर नभएर आफँै तानातान गर्ने हो भने त नेकपाको जुन हालत भयो अरु सबै कम्युनिष्ट पार्टीको अवस्था पनि त्यस्तै आउने म देख्छु । त्यसकारण सबैजनाले देश र जनतालाई अगाडि राखेर जानुपर्छ भन्ने मलाई लाग्छ ।’ प्रस्तु्त छ थापासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले) भित्रको विवाद फेरी पनि छताछुल्ल भएर बाहिर आएको छ, भीम रावलको राजीनामा पनि आयो, के कारणले यस्तो भयो ?

होइन्, राजीनामा त उहाँले कार्यदलबाट दिनुभएको हो, पार्टीबाट होइन् । तर, नेपाली कम्युनिष्ट पार्टीहरुमा मात्र होइन् नेपालका सबै राजनीतिक दलहरुमा पार्टीभित्रको दुई लाइन संघर्षलाई व्यवस्थापन गर्न गाह्रो भएको छ । त्यस्तै, नेकपा (एमाले) भित्रको पनि अन्तरसंघर्ष अथवा एकता प्रक्रियामा जसरी मिलेर जानुपर्ने हो । त्यसरी चाहीँ निश्कर्षमा नपुगिरहेको र छलफल बहसकै बीचबाट गुज्रिरहेको हुँदा यसलाई मैले धेरै ठुलो समस्याको रुपमा हेरेको छैन् । तर, पनि कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउने कुरा र यसमा छलफल र बहसबाट निश्कर्ष दिने, इतिहासलाई भुल्ने र भविष्यप्रति दृष्टि दिने कुरामा चाहीँ हाम्रा केही ल्याकिङहरु छन् । त्यो विस्तारै सुधार हुँदै जाला ।

नेकपा (एमाले) भित्र पनि दुई लाइन संघर्ष छ ?

दुई लाइन संघर्ष त सबै पार्टीमा हुन्छ । कम्युनिष्ट पार्टीभित्र दुई लाइन संघर्ष भएन भने कम्युनिष्ट पार्टी जीवन्त रहँदैनन् । अथवा विकास हुँदैन भन्ने सिद्धान्त रहेको छ । तर, दुई लाइन संघर्ष होइन गुट लाइन संघर्ष भएको हुँदा यहाँ समस्या भएको हो । विचारको संघर्ष हुँदा चाहीँ पार्टीहरु अगाडि बढ्छन् । समाज अगाडि बढ्छ । विचारको संघर्ष होइन व्यक्ति, प्रतिष्ठा, आफ्नो गुट, आफ्नो क्षेत्र र आफ्नो प्रभावलाई विस्तार गर्ने कुरा र व्यक्तिलाई केन्द्रित गर्ने कुरा भयो भने पार्टीभित्र विचार शुन्य हुन्छ र पावरको लडाइ हुँदा त्यो लडाइ बाहिर छताछुल्ल हुन्छ र पार्टीभित्र रचनात्मकता भन्दापनि हिसांत्मक चीजहरु अगाडि आउँछ । अहिलेको पछिल्लो चीजमा मेरो विश्लेषण के हो भने हरेक पार्टीभित्र रचनात्मकता र वैचारिकता भन्दापनि आफु व्यक्तिल केन्द्रित भएर छलफल गर्ने र आफुलाई पावरमा कसरी लग्ने भन्नेमा चाँही बढि नेताहरुको ध्यान भएको हुनाले यस्ता चिजहरु बारम्बार आइरहन्छन् ।

तपाईहरु माओवादी केन्द्र छाडेर नेकपा (एमाले)मा आउनुभयो, तपाईहरुको भविष्यपनि अन्धकार भयो होइन् ?

होइन्, अन्धार छैन् । मेरो आफ्नो विश्लेषणमा भन्नुपर्दा जुन ढंगले नेपालका राजनीतिक पार्टी चलिरहेका छन् । अहिलेको समकालिन राजनीति जुन छ, त्यो अहिलेको अवस्थामा सफा छैन् । अथवा यसको भविष्य छैन् भन्न सकिन्छ । कम्युनिष्ट पार्टीहरुमा एउटा जुनखालको एउटा विचार विहीनता र पावरको झगडा भइरहेको छ । अरु राजनीतिक दलमा पनि पावरको झगडा भइरहेको छ । यसले के देखाउँछ भने नेपालमा अझैपनि समाज परिवर्तनको निम्ति, जनपक्षताको निम्ति र समग्रताको निम्ति भन्दापनि केही मुठ्ठीभरका मान्छेहरुको निम्ति राजनीति हो की भन्नेतिर गएको छ । त्यसकारणले समग्रमै नेपालको राजनीति र कम्युनिष्ट पार्टी समग्रतामै रुपान्तरणको कोर्सतिर जानुपर्छ । अहिले नेपालको राजनीतिले सही निश्कर्ष निकाल्न सकेको छैन् भन्ने मेरो व्यक्तिगत विश्लेषण हो ।

१० बुँदे सम्झौताले तपाईंहरुलाई नेकपा (एमाले) मा काम गर्न अफ्ठ्यारो भएको हो ?

होइन्, १० बुँदेले हामीलाई अफ्ठ्यारो पारेको होइन् । अब, हामीले कमरेड केपी शर्मा ओलीलाई समर्थन गरिसकेपछि भएको १० बुँदे सम्झौता हो । हामी सिङ्गो माओवादीबाट आएका हरुलाई १० बुँदे सम्झौताले मात्र समस्या भयो भन्ने होइन् । त्यो पूर्व एमालेका साथीहरुले त्यसलाई सही ढंगले व्यवस्थापन गर्नुपर्छ र पुरानै एमालेभित्रकै झगडा चाँही जुन आएको छ त्यो बेठीक हो भन्ने हाम्रो भनाई हो । अहिले केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा (एमाले) छ त्यो चाँही नेपालको कम्युनिष्ट आन्दोलनको एउटा एकीकृत रुप हो । त्यसकारण यसमा अरु कम्युनिष्ट पार्टी पनि एकताबद्ध हुन्छन् र मुलधार यही हुन्छन् भन्ने सोच राखिसकेपछि योभित्रका सबै पक्षहरुले आफु उदार भएर आफुलाई एक स्टेप माथि राखेर सोच्नुपर्ने कुरामा हामी माओवादीले माओवीदी भएर सोच्ने, १० बुँदेले १० बुुँदे भएर सोच्ने, पुरानो एमालेले पुरानो एमालेले भएर सोच्ने र सबैले आफुलाई अब्बल ठानियो भने त विघटनतिर जान्छ ।

उसो भए नेपालको कम्युनिष्ट आन्दोलन विघटनतिर गयो, अब नेकपा (एमाले) पनि विघटनतिर जान्छ भन्ने तपाईँको भनाई हो ?

होइन्, हामीले यसलाई सही रुपले व्यवस्थापन गर्न सकेनौं । अहिले एमालेभित्र हामी पुर्व माओवादी र माधव नेपाल कमरेडलाई समर्थन गर्ने साथीहरु र पुरानो एमाले यी तीन वटामा पुरानो एमालेले हामी नै मुलधार हौं भन्ने, १० बुँदेमा आउने साथीहरुले हामी हौ मुलधार भन्ने अनि हामीले पनि त केपी शर्मा ओलीलाई नाजुक स्थितिमा समर्थन गरेका हौं । हाम्रो पनि अधिकार छ भनेर अधिकारकै लडाईँमात्र लड्ने कर्तब्य नसम्झिने भने त पार्टीको के अर्थ भयो र ? त्यसकारण समग्र कम्युनिष्ट पार्टी कसरी बनाउने नभएर आफँै तानातान गर्ने हो भने त नेकपाको जुन हालत भयो अरु सबै कम्युनिष्ट पार्टीको अवस्था पनि त्यस्तै आउने म देख्छु । त्यसकारण सबैजनाले देश र जनतालाई अगाडि राखेर जानुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईंहरु नेकपा (एमाले)मा आएपछि जिम्मेवारी पाउनुभएको छ, अब तपाईंहरु नेकपा (एमाले)मै बस्नुहुन्छ कि अर्को बैकल्पिक शक्ति निर्माण गर्ने तिर लाग्नुहुन्छ ?

अहिले वैकल्पिक शक्तिको कुरा छैन् । नेकपा (एमाले)लाई नै वैकल्पिक शक्ति बनाउने हो । अहिलेको एमालेलाई हामीले समर्थन गरेका छौं । र, अहिलेकै माओवादि केन्द्र छ र अहिलेकै माओवादी केन्द्र जसरी चलिरहेको छ त्यसरी पनि त्यो माओवादी केन्द्र चल्न सक्दैन् । अहिलेको नेकपा (एमाले) जसरी चलिरहेको छ र यसका जुन राजनीतिक एजेण्डा छन् र यसले जुन वर्ग पक्षधरता लिन कोशिश गरिरहेका छन् । यसका राजनीतिक, वैचारिक, सांस्कृतिक, गुटजन्य मानसिकता र आम जनताबाट गर्दै जाने र एउटा नयाँ वर्गको रुपमा आउने कम्युनिष्ट पार्टीहरुको ती अर्थ हुन्छ र सबै कम्युनिष्ट पार्टीहरुमा एउटा रुपान्तरणको जरुरी छ । त्यो रुपान्तरणको निम्ति कम्युनिष्ट पार्टीलाई वैचारिक पार्टी कसरी बनाउने, विचारको बहस कसरी बनाउने भन्ने कुरामा हामीले ध्यान केन्द्रित गरेनौं । हामी चाहीँ मास मात्र कम्युनिष्ट पार्टी हो, चुनाव जित्ने मात्र कम्युनिष्ट पार्टी हो, सरकारमा जाने मात्र कम्युनिष्ट पार्टी हो भन्ने हाम्रो जुन सोचमा विघटन छ । त्यो विघटनवादी सोचलाई म के भन्छु भने नेपालका सबै राजनीतिक दलले आफुलाई आन्तरिक डेमोक्रेसीबाट खारेर जनता केन्द्रित बनाउनुपर्छ । अहिले एउटा संभावना के हो भने ठुलो एउटा जनाधार भएको शक्ति र एमालेमा माओवादीबाट पनि एउटा धार यहाँ आइसकेको हुनाले र माधव कमरे बाट पनि साथीहरु यहाँ आइपुग्नुभएको हुनाले यो पार्टीले बुहुपक्षको नेतृत्व गर्न सक्छ । साथै यसको विबेकले फेरी एमालेलाई जिवित बनाउन सक्छ । तर, अहिलेकै स्थितिको बसहले त चिजहरु अगाडी बढ्दैनन् भन्ने मेरो बुझाई हो । file photo



प्रतिक्रिया दिनुहोस्