Logo

खैरो हेरोइनसहित श्रीमान श्रीमती पक्राउ



सुनसरी, ८ कात्तिक । अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–१४ एकम्बा बस्ने २७ वर्षीय शिवे सरदार र उनकै श्रीमती २८ वर्षीया सगुन माझी सरदारलाई ४१ ग्राम ५ सय ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन, नगद १५ हजार ७ सय १० रुपैयाँ र १ थान डिजिटल काँटा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

ईटहरी उपमहानगरपालिका–१७ स्थित सडकमा लागूऔषध खैरो हेरोईन ओसारपसार तथा विक्री गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले लागूऔषध विक्री गर्दै गरेका शिवेलाई २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित फेला पारी पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा शिवे र उनकै श्रीमतीले लागूऔषध बिक्री गर्नका लागि प्लाष्टिकको पोका बनाई कोठामा लुकाई राखेको अवस्थामा थप ४१ ग्राम ३ सय ९० मिलिग्राम खैरो हेरोइन समेत गरी उक्त परिमाणको खैरो हेरोइन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्