Logo

‘प्रधानमन्त्री देउवा अहिले बढि बढि बोलिरहनुभएको छ’ : खतिवडा



नेकपा (एकीकृत समाजवादी) का उपमहाचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले अहिलेको अवस्थामा एमसीसी पारित नहुने बताएका छन् । उनले यसमा आफ्नो पार्टीको कुनै सहमति नरहने पनि स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘हुँदैन, आजको अवस्थमा एमसीसी पारित गर्ने भन्ने विषयमा हाम्रो पार्टीको सहमति रहँदैन् । साथ हुँदैन । उहाँले एउटा एजेण्डा प्रस्तुत गर्नुभयो, त्यो उहाँ आँफै जान्नुहुन्छ । त्यसकारण उहाँ पनि कुन प्रभाव र दबावमा परेर बोलिरहनु भएको छ । अथवा उहाँको उद्देश्य नै यतातिर छ भनेर अब प्रश्न गर्नेबेला आएको छ । तर, उहाँले भनेर एमसीसी पास हुँदैन । केपी शर्मा ओली पनि एमसीसी पास गराउन ज्यान छोडेर लाग्नुभयो । सिङ्गो पार्टीलाई विभाजन गराउन तयार हुने तर, एमसीसी पास गर्ने उद्देश्यका साथ दौडिनुभएका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले त एमसीसी पास गर्न सक्नुभएन । अब अहिलेका प्रधानमन्त्रीज्यू जसले सबै राजनीतिक दललाई समेटेर सरकारको नेतृत्व गर्नुभएको छ । उहाँ एक्लैएक्लै किन बोल्नुहुन्छ ? उहाँ अहिले बढि बढि बोलिरहनुभएको छ । यस्ता कुरा बन्द गर्नुहोस भनेर म सुझाव दिन चाँहान्छु ।’ प्रस्तुत छ नेता खतिवडासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बहिस्कार गर्ने घोषणा गरेका छन्, यसलाई नेकपा (एकिकृत समाजवादी)ले कसरी हेरेको छ ?

होइन्, उहाँहरुले आफ्नो अधिकार प्रयोग गरिरहनु भएको छ । उहाँहरुले समस्याहरुलाई पहिचान गर्नुभएको छ । समस्याको सत्यताको जाँच गर्न केही न केही कोशिस गर्नु नै छ । त्यसकारण यसलाई सकेसम्म समझदारीपूर्ण ढंगले यसलाई मिलाउनको निम्ति एउटा विधि, नियम र त्यसको न्यायिक आचरणभित्र हिँड्नको निम्ति हामी सजिलो कसरी बनाउन सकिन्छ त्यही कोशिस गर्नेछौं । अब न्यायाधीशहरुले गरेको कुनै कुरा उहाँले गर्नुभयो भने उहाँले आफ्नो स्वतन्त्रता र आफ्नो कानुनको परिवेशलाई हेरेर गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।

उसोभए नेकपा (एकिकृत समाजवादी) ले अहिले सर्वोच्च अदालतमा जे भइरहेको छ, त्यो सही भएको छ भन्ने निश्कर्ष निकालेको हो ?

हाम्रो पार्टीले ठीक भएको अथवा बेठीक भएको भनेर कुनै निश्कर्ष निकालेको छैन् । यो घट्नालाई गम्भिरतापूर्वक नियाँलिरहेको छ । सुचनाहरु संकलन गरिरहेको छ । वस्तुगत परिस्थिति र गरिएका क्रियाकलापहरुबाट उत्पन्न हुने परीणामको आँकलन गरिरहेको छ । हामी केही दिन पछाडिमात्रै यस विषयमा आफ्नो धारणा बनाउन सक्छौं ।

१४ जना न्यायाधीशहरुले प्रतिनिधीसभा विघटन बदर गर्ने फैसलालाई राजनीतिक लेनदेनको अस्त्र बनाएर लाभ लिने प्रयास प्रधानन्यायाधीशले गर्नुभयो जसले सहकर्मी न्यायाधिशको निष्ठा पनि धुमिल हुने अवस्था आएको आरोप लगाएका छन्, यस विषयमा तपाईं के भन्नुहुन्छ ?

उहाँहरुले जुन तर्क उठाउनुभएको छ, त्यो तर्कमा बिभिन्न कोणबाट टिकाटिप्पणीहरु भइरहेका छन् । अब यसमध्ये न्यायमूर्तिहरु नै आँफै जो त्यो न्याय प्रदान प्रक्रियामा सहभागी हुनुभयो । उहाँहरुले उठाएको प्रश्नलाई अहिले नै नाजायज भनेर भन्न सकिँदैन् ।

उसोभए उहाँहरुले उठान गरेका सबै मुद्धाहरु ठीक छन् भन्ने तपाईंको निश्कर्ष हो ?

यसमा रहेका अन्तरनिहित विचारहरु त्यसको तर्क र आशय विचार गरौं न, त्यो एउटा संवैधानिक निर्णय भइसक्यो, त्यसको लेटर, त्यसको स्प्रिट । यसलाई प्रक्रिया र जाने प्रक्रियामा प्रधानन्यायाधीशबाट कमजोरी भन्ने कुरा उहाँहरुको जुन प्रकारको अभियोग छ, यो अभियोग पुष्टी नभएसम्म हामीले उहाँलाई दोषी ठहराउनु पनि हुँदैन् । यो अभियोग पुष्टि गर्ने प्रक्रियामा उहाँहरु लाग्नुभएको छ । यो कुरालाई हामीले बाधा गर्नुपनि हुँदैन् ।

प्रधानन्यायाधीश विरुद्ध १४ जना न्यायाधीशहरुले उठाएको प्रश्नमा नेकपा (एकिकृत समाजवादी)को समर्थन छ ?

होइन्, मैले अघि पनि भनें यस विषयमा हाम्रो न समर्थन छ न विरोध छ । हामी विषयवस्तुलाई गम्भिरतापूर्वक अध्ययन र विश्लेषण गरेरमात्र आफ्नो धारणा राख्न उपयुक्त सम्झन्छौं । हामीले नजिकबाट नियाँलिरहेका छौं । यसका तथ्य र तथ्यांकहरु संकलन गरिरहेका छौं । राजनीतिक विश्लेषणको क्रममा छौं । चाँडै नै हाम्रो धारणा सार्वजनिक हुन्छ ।

प्रधानन्यायाधीशले संवैधानीक नियुक्तिमा भागबण्डा खोज्नुभएको हो ?

राजनीतिक दलका नेताहरुले पनि यसको चर्चा गर्छन् । न्यायकर्मीहरुले पनि यसको चर्चा गर्छन् र आम रुपमा मान्छेहरुमा यस्तो मनोविज्ञान पैदा भइरहेको देखिएको छ । यो मनोविज्ञान पैदा हुन प्रधानन्यायाधीशले किन सहज वातावरण निर्माण गर्नुभयो भन्ने विषय पनि महत्वपूर्ण रहेको छ ।

१ नम्बर प्रदेशमा तपाईंहरुको नेता मुख्यमन्त्री बन्न पाउनुभएन, अब तपाईंहरु के गर्नुहुन्छ ?

केही दिनमा पाउनु हुन्छ ।

तर, नेपाली काँगे्रसले आलोपालो गर्नुपर्छ भनेको छ नि ?

गाह्रो त छ । गाह्रो नहुने भन्ने कुरा नै छैन् । राजनीतिमा इमानदारीताको मात्रा कमजोर हुँदै गयो भने बेइमानीकै मात्र बढ्ने हो । त्यसकारण हामीले एउटा सहमति बनाइसकेका छौं । काँगे्रसलाई मिलाउने कुरा शेरबहादुर देउवाज्यूको हो । काँगे्रसका नेताहरुलाई व्यवस्थापन गर्ने भन्ने कुरा उहाँको पार्टीको हो । राजनीतिक गठबन्धनमा एउटा सहमति गरिसकेपछि त्यसलाई पालना गर्नुपर्छ भन्ने संस्कृति सिक्नुपर्ने पनि नेपाली काँगे्रसकै कार्यकर्ताको हो । त्यसकारण अब यतिबेला उसले बाधा पुर्याइरहेको छ भन्ने देख्न सकिन्छ । तर, केही दिनमा यसको टुङ्गो लाग्छ भन्ने छ । प्रधानमन्त्रीज्यु सिरियस हुनुहुन्छ भन्ने सुनेको छु, उहाँले मिलाउने कोशिस गर्नुहोला । मिलाउने कोशिस गर्नुभएन भने उहाँको असक्षमता ठहरिएला, उहाँको नियत ठहरिएला । त्यो बेलामा कुरा गरौंला ।

हिजो भीम आचार्यले विश्वासको मत लिने निर्णय गरिसक्नुभएको थियो, तर नेपाली काँग्रेसको कारणले गर्दा समस्या भयो होइन् ?

नेपाली काँगे्रसले आफ्नो राजनीतिक संस्कृतिलाई अझै धेरै सुधार गर्नुपर्ने देखियो । हाम्रो गठबन्धनको भावनालाई समाप्त गर्ने र त्यही एउटा पदको निम्ति आज अप्ठ्यारोमा पार्नको लागि कोशिस गरिरहेको छ । नेपाली काँग्रेसका नेताहरुले जे गर्नुभएको छ, मन खिन्न बनाउने विषयवस्तु बनेको छ । यो कुरालाई नेपाली काँगे्रसले सच्याउनुपर्छ ।

नेपाली काँग्रेसले आलोपालो मुख्यमन्त्री खोजेको छ, यसमा तपाईंहरु किन तयार हुनुभएन ?

होइन्, दुबै ठाउँको समयक्रम आएपछि काँग्रेसले त्यो भनिरहेकै होला यसमा कुनै कुरा छैन् । तर, निर्णय जे छ त्यसलाई पालना गर्नुहोस ।

प्रदेश १ को हकमा निर्णय के भएको हो ?

प्रदेश १ र बागमती दुबै ठाँउमा हाम्रो मुख्यमन्त्री बन्ने निर्णय भएको हो । यो कुरामा बाधा नपुर्याउनुहोस । यदि गठबन्धन चाहानुभएको छ, मिलेर जाने र सहकार्यको संस्कृती निर्माण गर्छु भन्ने चाँहानुभएको छ भने यसप्रकारका व्यबधानहरु उत्पन्न नगर्न म उहाँहरुलाई सुझाव दिन चाहान्छु ।

यदि कुरा मिलेन भने के हुन्छ ?

त्यो त समयले हामीलाई पाठ पढाउदै जान्छ । यो कुनै एउटा व्यक्तिले गरेको होइन्, एउटा सांसदले गरेको होइन् भन्ने जब निस्कर्षमा पुगिन्छ । यो सिंगो काँगे्रसको निति थियो भन्ने निश्कर्षमा पुगिन्छ । त्यसपछाडी अरु थप निर्णय लिन सकिन्छ । अहिले हामीले काँगे्रसले नीतिगत रुपमा नै नेकपा (एकीकृत समाजवादी)लाई अफ्ठ्यारो पार्नको निम्ति साँसदहरुलाई उचालिरहेको छ भन्ने निश्कर्षमा पुगेका छैनौं । यसलाई व्यक्तिको तहमा हेरिरहेका छौं । स्वार्थ समूहको तहमा हेरिरहेका छौं । त्यसकारण धेरै टिप्पणी गर्दैनौं । जब काँगे्रसको नीति र नियतसँग यो जोडिन्छ तब विषयहरु गम्भिर बन्न थाल्छन् ।

१ नम्बर र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन पहिले नै हुनुपर्दथ्यो, तर भएन यसको दोषी तपाईंहरु, गठबन्धन कि नेपाली काँग्रेस?

अहिलेलाई त नेपाली काँग्रेसका नेताहरुले कमजोरी गरेको देखिन्छ । किनभने उहाँहरुले व्यबधान पुर्याइरहनुभएको छ । कहिलेकाहीँ राजनीतिक परिस्थितीअनुकुल भएन होला । कहिले त्यहाँका प्रदेश प्रमुखहरु बाधक भए । कहिले सभामुखहरु बाधक भए । कहिले राजनीतिक दलहरु बाधक भए । कहिले हाम्रो समय बाधक भयो । यसमा धेरै चिज रहेको छ । तर, आज चाँहीँ नेपाली काँग्रेसका केही नेताहरु र केही स्वार्थ समुहहरु बाधक भएको देख्न सकिन्छ ।

प्रदेश सरकारलाई कसरी सम्हाल्ने भन्ने विषयमा गठबन्धनभित्र छलफल भएको छ ?

पहिले त मुख्यमन्त्रीको टुङ्गो लागिसकेपछि अरु केही कार्यविधिहरु र आम सहमतिका कार्यक्रमहरु निर्धारण गर्नुपर्छ । त्यो आम सहमतिको कार्यक्रम निर्धारण गर्न हामी सधैं लागिरहने छौं । तर, पहिले मूलभुत विषयको समाधान गर्नुपर्याे । यसको समाधान हुन काँगे्रस अग्रसर हुनपर्यो ।

एमसीसी पास गर्ने भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, यसमा नेकपा (एकीकृत समाजवादी)को सहमति हुन्छ ?

हुँदैन, आजको अवस्थमा एमसीसी पारित गर्ने भन्ने विषयमा हाम्रो पार्टीको सहमति रहँदैन् । साथ हुँदैन । उहाँले एउटा एजेण्डा प्रस्तुत गर्नुभयो, त्यो उहाँ आँफै जान्नुहुन्छ । त्यसकारण उहाँ पनि कुन प्रभाव र दबावमा परेर बोलिरहनु भएको छ । अथवा उहाँको उद्देश्य नै यतातिर छ भनेर अब प्रश्न गर्नेबेला आएको छ । तर, उहाँले भनेर एमसीसी पास हुँदैन । केपी शर्मा ओली पनि एमसीसी पास गराउन ज्यान छोडेर लाग्नुभयो । सिङ्गो पार्टीलाई विभाजन गराउन तयार हुने तर, एमसीसी पास गर्ने उद्देश्यका साथ दौडिनुभएका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले त एमसीसी पास गर्न सक्नुभएन । अब अहिलेका प्रधानमन्त्रीज्यू जसले सबै राजनीतिक दललाई समेटेर सरकारको नेतृत्व गर्नुभएको छ । उहाँ एक्लैएक्लै किन बोल्नुहुन्छ ? उहाँ अहिले बढि बढि बोलिरहनुभएको छ । यस्ता कुरा बन्द गर्नुहोस भनेर म सुझाव दिन चाँहान्छु ।

केपी शर्मा ओलीले झापा पुगेर माधवकुमार नेपाल नेपालको राजनीतिबाट पतनको दिशामा गए भन्नुभएको छ, यस विषयमा तपाई के भन्नुहुन्छ ?

केपी शर्मा ओली चाहीँ जिन्दगीभरि राजनीतिमा रहिरहनु हुन्छ रे ? उहाँको चाहीँ राजनीतिक अवशान हुँदैन रे ? त्यसकारण यस्ता गैरराजनीतिक तर्कको केही अर्थ छैन् । माधवकुमार नेपाल चुनाव लड्नुहुन्छ या लड्नुहुँदैन तपाईँ आफै आएर माधवकुमार नेपालसँग चुनाव लड्नुहोस । केपी शर्मा ओलीलाई माधवकुमार नेपालसँग चुनाव लड्न निर्वाचन क्षेत्र रोज्न म उहाँलाई सुझाव दिन चाहान्छु । दोस्रो कुरा, हिजो उहाँले कस्ता मान्छेलाई पार्टी प्रवेश गराउनुभयो त्यसबाटै देखिन्छ उहाँले कस्तो कम्युनिष्ट पार्टी चलाइरहनुभएको छ । अनि जस्तालाई पार्टीमा राखेर पार्टी चलाउँदै हुनुहुन्छ त्यस्तै बुद्धि आउछ भन्ने त जानेकै कुरा हो नि ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot