Logo

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष



दाङ, ८ कात्तिक: गत शनिबार सम्पन्न भएको नेकपा (एमाले)कोे १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा त्यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छिन् । उनी बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य छिन् ।

त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन भएकी हुन् । उनी गृहिणी छिन् । घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छिन् । उनी वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि छिन् ।

त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष भएकी छिन् । गोतामे निर्वाचित वडा सदस्य छिन् । गढवा गाउँपालिका– ४ मा सीता थापा वडाध्यक्ष भएकी छिन् । थापा रेडक्रसकर्मीसमेत छिन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भएकी हुन् । शान्तिनगर गाउँपालिका–३ की पार्वती पुन वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिकरुपमा सम्पन्न भएको बताए । त्यस्तै उनले अधिवेशनमा अधिकतम महिलालाई ३३ प्रतिशत नघट्ने गरी प्रत्येक कमिटीमा समावेश गरेको जिकिरसमेत गरे ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्