Logo

प्रधानन्यायाधीशले निकास दिनुपर्छ, होईन भने दलले गम्भीर कदम चाल्न सक्छन् : पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान



काठमाडौं, ८ कार्तिक । पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलेको अवस्थामा न्यायालयको साख जोगाउनको लागि प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने बताएका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘न्यायालयको विषयमा गम्भीर प्रश्न उठेको छ। प्रधानन्यायाधीशको बारेमा जुन विषय उठान भएका छन् । उहाँमाथि जतिपनि आरोप र विवाद लागेका थिए, त्यो स्पष्ट पार्ने जिम्मेवारी थियो । तर अब समय घर्किसकेको छ, फस्र्योट गर्ने समय गुज्रिरसकेको छ । न्यायापालिकाको जनताको अभिभावक हो । त्यसको भावना र मर्मलाई न्यायिक नेतृत्वले आत्मसात गर्नुभएन । राजनीतिक दलसँग सौदावाजी गर्नुभयो ।’

उनले प्रधानन्यायाधीशले कार्यपालिकासँग भागबण्डा खोजेको विषयमा पनि प्रश्न उठेको स्मरण गराए । उनले भने,‘यो नेपालको न्यायिक ईतिहासमा गम्भीर विषय हो। अब यति विवादहरु सिर्जना हुँदाहुँदै पनि तपाईँ त्यो पदमा बसिरहन अन्तरआत्माले दिन्छ त ? म प्रश्न गर्न चाहन्छु । एउटा नागरिकको हैसियतले भन्दाखेरि न्यायपालिका अब विवादित नेतृत्वको आधारमा सञ्चालन हुन सक्दैन् । उहाँले यो चरणमा आईपुग्दाखेरि अझै उहाँले विवादका विषयहरु, प्रश्नहरुलाई नजरअन्दाजन गर्नुभयो भने, बारले कस्तो कदम चाल्छ भन्ने थाहा छ । दलले पनि गम्भीर कदम चाल्न सक्छ। संवैधानिक व्यवस्थाहरु छन् ।’

पत्रकार धमलाले त्यसो भए तपाईँहरु महाभियोग लगाउनुहुन्छ त भनेर सोधेको प्रश्नमा उनले भने,‘दलहरुका आफ्नो किसिमको सोच होलान्, विधि र प्रक्रियालाई उहाँले आत्मसात् गर्नुभएन । निजी सोच र चिन्तनलाई पूरा गराउनतर्फ लाग्नुभयो । यथाशक्य उहाँले सोच्नुपर्यो । न्यायपालिकाको स्वच्छता, निश्पक्षतामा कुनै दाग नपर्नेगरि निकास खोज्नुपर्छ । निकास दिनुभएन भने हामी छलफल गर्छौं । जबरजस्ती गरेर उहाँ पदमा बस्नुभयो भने नेपालको न्यायिक छबि धुमिल हुन्छ । महाभियोगको प्रस्ताव यो राजनीतिक दलको कुरा हो । दलका आफ्नै विधि, प्रक्रिया र छलफल हुन्छ । तर, राजीनामा दिनुभएन भने हामीले गम्भीर रुपमा सोच्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्