Logo

प्रधानन्यायाधीश जबराले राजीनामा दिएर फेश सेभ गर्नुपर्छ : बरिष्ठ अधिवक्ता परशुराम कोइराला



काठमाडौं, ८ कार्तिक । बरिष्ठ अधिवक्ता परशुराम कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर फेश सेभ गर्नुपर्ने बताएका छन् । उनले मैदानमा अब टिम क्याप्टेनले मात्रै खेलेर केही नहुने भन्दै प्रधानन्यायाधीशले राजीनामा दिँदा नै राम्रो हुने तर्क गरे । उनले भने,‘टिम क्याप्टेनले एक्लैले खेलेर पुग्दैन् । टिम लिडरले भनेको कुरा अरु टिम मेटहरुले नमान्ने अवस्था आउनु भनेको यो शर्मनाक हो । आज उपरान्त जति जति दिन ढल्दै जान्ँछ, त्यति त्यति नै चरित्रमा दाग लाग्दै जान्छ ।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले अहिलेको समस्याको एक मात्रै कारक प्रधानन्यायाधीश एक्लै भने नभएको टिप्पणी गरे । उनले भने,‘उहाँको पालामा जत्ति विवाद अरु बेला कहिल्यैपनि आएको थिएन, अब उहाँले राजीनामा दिएर फेश सेभ गर्नुपर्छ ।’

उनले १४ न्यायाधीशले फूलकोर्टमा जाँदैनौं भन्नु ठूलो प्रश्न भएको पनि बताए । उनले भने,‘नेपालको संविधान २०४७ आउँदापनि सर्वोच्च अदालतका न्यायाधीशहरुको पून नियुक्तीको कुरा आएको थियो । २०६३ पछि यो कुरा राखियो । यही अर्थ २०७२ मा पनि आएको थियो । न्यायाधीश नियुक्ती पारदर्शी हुनुपर्छ भनिँदै आएको छ । राम्रा र योग्य व्यक्ति न्यायाधीश बन्नुपर्छ । केही समयदेखि अहिलेको जुडिसियल क्याप्टेन प्रधानन्यायाधीशको कामकारबाहीको बारेमा प्रश्न उठिरहेको थियो । गम्भीर प्रकृतिका मुद्दामा वरिष्ठतम न्यायाधीशलाई पन्छाएर कनिष्ठलाई मौका दिईयो । १४ जना न्यायाधीश प्लेयरले फुटबल गेममा म सामेल हुन सक्दिन् भन्नु, यो सम्मको कुरा आउनु भनेको यसबाट न्यायापालिकाको अवस्था थाहा हुन्छ ।’

उनले प्रधानन्यायाधीश कता कता अहिले एक्लिएको पनि टिप्पणी गरे । उनले थपे–‘उहाँले आफ्ना साथीरुको कुरा सुनेर खासगरी अरुसाथीहरु के चाहनुहुन्छ, अवस्था के हो ? भन्न खोजेको हो भनेर बुझेर बाटो खोल्नुपर्छ । स्वचित्तले अगाडिको बाटो तय गर्नुपर्छ ।’ उनले प्रधानन्यायाधीशले भागबण्डा खोजेको भन्ने विषयपनि आएको स्मरण गराउँदै यसमा भाग दिने दल र यसका नेताहरु पनि उत्तिकै दोषी भएको आरोप लगाए ।

 



प्रतिक्रिया दिनुहोस्