Logo

कुनैपनि बेला प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा हुनसक्ने



काठमाडौं, ८ कात्तिक । राजनीतिक घटनाक्रम यसरी विकास भएको छ कि देश वैशाख या जेठभित्र प्रतिनिधि सभाको निर्वाचनमा जाने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दो छिटो चुनाव घोषणा गर्ने तयारीमा छन् । त्यसका लागि उनले परामर्श समेत थालिसकेका छन् ।

आगामी वर्षको सुरुमै संसदको निर्वाचन गर्न स्थानीय चुनाव चैतमै गर्ने तयारी समेत भएको छ । यसका लागि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरिसकेका छन् । आयोगले चुनावका लागि तयार भएको भन्दै आवश्यक व्यवस्थाबारे जानकारी गराएको थियो ।

देउवाले अर्ली इलेक्शनमा जोड दिदै आएका थिए । कात्तिक या मंसिरमा हुने आवधिक चुनाव ६ महिना अगाडि गर्दा विरोधका स्वर नसुनिने बुझाई देउवानिकटस्थहरुको छ ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने संकेतहरु देखिएको छ । देउवा महाभियोगको पक्षमा छैनन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकटस्थहरु राजीनामा कि महाभियोग भनिरहेका छन् । यो अर्थपूर्ण छ ।

देउवा कुनैपनि हालतमा महाभियोग लाग्न नदिने रणनीतिमा देखिन्छन् । यसले पनि प्रतिनिधि सभा विघटनका लागि वातारण बनाइरहेको विश्लेषण हुन थालेको छ ।

प्रतिनिधि सभाको एक चौथाई सदस्यले मात्र प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सक्छन् । त्यसलाई टार्न पनि विघटनमा देउवा जान सक्छन् ।



प्रतिक्रिया दिनुहोस्