Logo

तीन महिनामा झन्डै १० अर्ब रुपैयाँ प्रिमियम



काठमाडौं, कार्तिक ९ । निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०७८/८९ को तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । चालू आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले साउन, भदौ र असोज मसान्तसम्म सो रुपैयाँ बराबरको बिमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् । यो रकम गत आर्थिक वर्षको तुलनामा २७ दशमलव ८८ प्रतिशतले बढी हो ।

यी बिमा कम्पनीहरूले गत आव २०७७/७८ को असोज मसान्तसम्ममा जम्मा ७ अर्ब ५८ करोड रुपैयाँ मात्र बिमाशुल्क संकलन गरेका थिए ।

नियामक निकाय बिमा समितिका अनुसार हाल सञ्चालित विभिन्न २० बिमा कम्पनीहरूले गत असोजसम्ममा ७ लाख ३० हजार ९ सय ९७ वटा बिमालेख बिक्री गरी कुल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बिमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् ।

जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै प्रिमियम रकम संकलन गरेर अर्बौं क्लबमा प्रवेश गर्न सफल भएको छ । सो कम्पनीले तीन महिनामै १ अर्ब ३२ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ । यो अवधिमा यस कम्पनीले ६७ हजार ९७ वटा बिमालेख बिक्री गरिसकेको बिमा समितिले जनाएको छ ।

समितिका अनुसार सो अवधीमा सबैभन्दा बढी संख्यामा बिमालेख बिक्री गर्ने कम्पनीहरूमा नेको इन्स्योरेन्स अघि रहेको छ । सो इन्स्योरेन्सले तीन महिनाको अवधिभित्र कुल ८१ हजार ५५६ वटा बिमालेख बिक्री गरी ८१ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो कम्पनी बिमाशुल्कको आधारमा भने विगतका वर्षहरूमा झैं तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, सबैभन्दा बढी बिमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरूमा सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । सो इन्स्योरेन्सले ६६ हजार ९ सय ४० वटा बिमालेख जारी गरी कुल ९० करोड ६७ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी, ६१ करोड देखि ६९ करोड रुपैयाँसम्म बिमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स रहेका छन् । यी तीनवटा इन्स्योरेन्स कम्पनीहरूले क्रमशः ६३ हजार वटा, ५४ हजार वटा र ३८ हजारवटा बिमालेख बिक्री गरिसकेका छन् ।

यस अवधिमा सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बिमा कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्सबीच प्रतिस्पर्धा रहेको देखिएको छ । यी दुईवटा बिमा कम्पनीले समीक्षा अवधिमा ४४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । जसमध्ये प्रिमियम संकलनमा राष्ट्रिय बिमा कम्पनी केही अघि रहेको छ भने सबैभन्दा बढी बिमालेख बिक्री गर्नेमा युनाइटेड इन्स्योरेन्स निकैले अगाडि पर्न सफल भएको समितिले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्