Logo

प्रधानन्यायाधीश जबरालाई देउवाको साथ, कठोर कदम चालेर भएपनि जोगाउने



काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएका छन् । जबराविरुद्ध महाभियोग ल्याउने देखि राजीनामा माग्ने सम्मका गतिविधि हुन थालेपछि देउवा पक्षमा उभिएका हुन् ।

सोमबार सत्ता गठबन्धनको बैठकमा पनि देउवाले प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याउन नहुने स्पष्ट धारणा राखेका थिए । देउवा निकट नेता रमेश लेखकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् । ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनुपर्ने गरी उनले गलत कार्य नगरेको समेत बताएका छन् । यसबाट पनि देउवा जबराको पक्षमा उभिएको स्पष्ट भएको छ ।

महाभियोग लगाउन कुनैपनि शक्ति अगाडि बढेमा देउवाले काँध थाप्ने रणनीति बनाएको बुझिएको छ । त्यसका लागि देउवाले आन्तरिक तयारी समेत गरेको विश्वस्त स्रोतले बताएको छ ।

प्रधानन्यायाधीश जबराले पनि जस्तोसुकै चुनौतीको सामना गर्ने भन्दै निकटस्थहरुसँग परामर्श गरेका छन् । उनले संविधान र कानुन अनुसार आफूले न्याय सम्पादन गर्दा कत्तिपनि डगमग नहुने अडान लिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्