Logo

श्रीमान् जबरा न्यायको ढुकढुकी रोकिन नदिनुहोस् !



दीपेश केसीः दार्शनिक सुकरातले राज्यको विद्यमान प्रणालीविरुद्ध बोलेकोले हेमलक विष पिएर मर्नुपर्ने सजाय सुनाइयो । सुकरात राज्यमा लोकप्रीय थिए । उनलाई माफी दिनुपर्ने विषय पनि उठ्यो । तर, सुकरात माफी माग्न तयार भएनन् । उनले तत्कालीन शासकसामु शीर ठाडो बनाएर नैतिक विजय प्राप्त गर्न मात्र माफी माग्न अस्वीकार गरेका थिएनन् । कानुनको शासन स्थापित गर्न माफी नमागी हेमलक विष पिउन तयार भएका थिए । सुकरात लोकप्रीय भएकै आधारमा कानुन भन्दा माथि भयो भन्ने सन्देश जान दिएनन् । राज्यको प्रणाली र परम्पराविरुद्ध बोल्नु र लेख्नु त्यतिबेला गम्भीर अपराध मानिन्थ्यो । फाँसीको सजाय हुन्थ्यो । त्यही अपराध गरेकाले सुकरात अपराधी ठहरिएका थिए । कानुन उल्लंघन गरेकाले अपराधी ठहर भएर सजाय तोकिएका सुकरात हाँसी हाँसी हेमलक विष पिउन तयार भएका थिए ।

आजभन्दा झण्डै २५ सय वर्ष अघि ग्रीसमा सुकरातले हेमलक विष पिएर कानुनको शासनको परिपालनाको अभ्यास सिकाएका थिए । राज्यको गलत गतिविधिको विरोध गर्नुपर्छ भन्ने सन्देश दिए । यति भन्दैमा राज्यको काुनन उल्लंघन गर्नेले सजायबाट उन्मुक्ति पाउनुपर्दैन भन्ने सन्देश पनि दिए । ग्रीसमा सुकरात जस्ता दार्शनिकको बलिदानीपूर्ण सन्देशले आज पनि यूरोपको न्याय र नैतिकवान समाजलाई उदाहरणीय मानिन्छ । त्यो समाज सुकरात जस्ता महामानवहरुको त्यागबाट बनेको हो । कानुनको निर्माण र व्याख्या जति कठिन छ त्योभन्दा कैयौं गुणा त्यसको पालना गराउनेमा छ । त्योभन्दा कैयौं गुणा कठिन पालना गर्नेमा छ । जुन समाकालिन नेपाली राजनीतिक र अन्य क्षेत्रमा कमै अभ्यास छ । जसले कानुन उल्लंघन गर्न सक्यो त्यही शक्तिशाली दर्ज हुन्छ । कानुनको उल्लंघन गर्न शक्ति प्रदर्शन हुन्छ । अन्तमा न्यायालयमाथि नै प्रहार हुनथाल्छ । राजनीतिक विकार थुपारेर प्रदूषित बनाउन खोजिन्छ । राष्ट्र जोगाउनुपर्ने दायित्व बोकेकाहरु आफ्नो क्षणिक राजनीतिक लाभको संरक्षणका लागि जनता, समाज र सभ्यतालाई नै दाउमा राख्न उद्दत हुन्छन् । राष्ट्रलाई जुवाको खालमा राख्न पछि हट्दैनन् ।

जेएनयूका प्राध्यापक अमितकुमार शर्माको एउटा वाक्य थियोः ‘कुनैपनि राष्ट्रमा सबै बिकेपनि प्रधानन्यायाधीश बिक्दैन । राष्ट्र उसैले जोगाउँछ । संविधानमा जे लेखेको छ त्यही अनुसार प्रधानन्यायाधीश चल्न वाध्य हुन्छ । त्यसैले उसले दायाँबायाँ गर्दैन र राष्ट्र जस्तोसुकै परिस्थितिमा पनि जोगिन्छ ।’ अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा चौतर्फी प्रहारमा परेका छन् । यो प्रहार उनको कदमहरुका कारण होइन बरु राजनीतिका अनैतिक र घीनलाग्दा खेलहरुको विकार अदालतमा लगेर अड्काउन खोज्दा भएको हो ।

के प्रतिनिधि सभा विघटन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका हुन् ? के तत्कालीन नेकपाभित्र केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको लडाईँ चोलेन्द्र शमशेर जबराले गराएका हुन् ? देउवालाई प्रधानमन्त्री बनाउन प्रतिनिधि सभाका बहुमत सांसदको हस्ताक्षर जबराले लगिदिएका हुन् ? एमालेको विभाजन जबराले गरिदिएका हुन् ? यी यावत् प्रश्नको उत्तर पहिले खोजिनुपर्छ ।

संविधानमा जे लेखिएको छ त्यही बमोजिम उनीसहितको इजलास गठन भई प्रतिनिधि सभा पुनःस्थापनाको फैसला भएको छ । प्रतिनिधि सभा पुनःस्थापनाको फैसला सुनाउने र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने प्रधानन्यायाधीश जबरा र ४ न्यायाधीश ओलीलाई मन परेको छैन । उनले राजीनामा मागिदिए । संवैधानिक परिषदबाट संवैधानिक निकायमा भएका नियुक्ति प्रचण्ड र माधव नेपालहरुलाई मत परेको छैन । त्यसैले उनीहरुनिकट प्रधानन्यायाधीश जबराको राजीनामा मागिरहेका छन् । आफूले भनेबमोजिम नभए राजीनामा दिनुपर्ने ?

जतिसुकै आइग्लास लगाएर हेर्दा पनि संविधानको धारा ७६ मा जे लेखिएको छ त्यही बमोजिम प्रतिनिधि सभा पुनःस्थापनाको फैसला भएको छ । बलमिच्याईँले नेकपा नामको दल निर्वाचन आयोगमा दर्ता हुँदा हुँदै दर्ता भएको छ । अदालतले अर्को नाम राखेर पुनः पार्टी एकीकरण गर्न सकिने आदेश जारी गरेको छ । ओली र प्रचण्डले किन एक भएर पुनः अर्को नाम राखेर दर्ता नगरेको हो ? अहिले ओली र प्रचण्डबीचको लडाईंमा न्यायपालिकालाई प्रभावित गर्न खोज्ने अनि न्याय सम्पादन आफू अनुकूल हुनुपर्ने रटान लगाउने क्रियाकलाप भएको छ । यस्ता कार्यशैलीले सभ्य समाजको निर्माण हुन सक्दैन ।

आफू अनुकूलको व्यक्ति सर्वोच्च अदालतको प्रधानन्यायाधीश भए ठिक नत्र बेठिक भन्ने प्रवृत्ति सोही पदमा बसेका भुक्तभोगीहरुमा समेत देखिएको छ । उनीहरुले विगतमा गरेको त्रुटीको कहिले समिक्षा गरेका छन् ? न्यायको ढुकढुकी रोक्न खोजिएको छ । यसलाई बचाउने दायित्व प्रधानन्यायाधीश जबराको हो । उनी राणा परिवारका सन्तान हुन् । उनको इच्छा चाहना अहिलेको प्रणालीभन्दा फरक हुन सक्ला । तर, संविधानमा जे लेखिएको छ त्यही अनुसार न्याय सम्पादन गर्नु उनको दायित्व हो जसलाई निर्वाह गरिरहेका छन् । सबै बिक्दा पनि उनी बिक्न हुँदैन । सबै झुक्दा पनि उनी झुक्न हुँदैन । सबै डग्दा पनि उनी डग्नुहुँदैन । त्यसैले त राष्ट्र रहन्छ र जोगिन्छ । श्रीमान् जबरा न्यायको ढुकढुकी मर्न नदिनुहोस् ।

यहाँ कानुनको पालना गरेर सभ्य समाजको परिचय दिने सुकरात अझै जन्मिएको छैन जसले हेमलक विष पिएर सभ्य समाजको परिचय देओस् । जबसम्म सुकरात बन्न कोही तयार हुँदैन तबसम्म कुनैपनि हालतमा कानुनको पालना गर्ने गराउने सभ्य समाजको परिकल्पना सम्भव हुनेछैन । कसैको आग्रह पूर्वाग्रह र लहडको प्रभावमा न्यायालय चल्नुहुन्न । चोलेन्द्र शमशेर जबराले चट्टाने अडान लिएर बस्नुपर्छ । अहिलेको प्रहार चोलेन्द्र शमशेर जबरामाथि होइन प्रधानन्यायाधीश पदमाथि हो । सर्वोच्च अदालतमाथि हो । राजनीतिका घृणित खेलहरुको विकार थुपारेर न्यायालयलाई प्रदूषित पार्न खोजिएको छ । त्यो जतिसक्दो छिटो व्यवस्थापन नगर्ने हो भने राज्यका महत्वपूर्ण निकायहरु सबै विकारयुक्त भई राष्ट्र नै खतरामा पर्न सक्छ । त्यसले न्यायको ढुकढुकी मात्र रोकिदैन राष्ट्रकै ढुकढुकी रोकिन सक्छ । त्यसैले श्रीमान् जबरा न्यायको ढुकढुकी रोकिन नदिनुहोस् । जस्तोसुकै चुनौतीको सामना गर्नुहोस् ।  न्यायालय लहड र व्यक्तिगत आग्रह पूर्वाग्रहको अखडा बन्न नदिनका लागि पनि श्रीमान् जबराको चट्टाने अडान र शतिशाल शेली अनिवार्य छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम