Logo

गाडी भाडामा ठगिदै सर्वसाधारण



पाल्पा, कार्तिक १० । रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् ।

यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै रकम असुल्ने गरेको गुनासो यत्रतत्र बढेपछि युवा सङ्घ नेपाल रामपुर नगरपालिका–१० पाल्पाले गाडी भाडादर समायोजन ध्यानाकर्षण गराउँदै नगरपालिकामा निवेदन दिएको छ ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रशासन कार्यालयका प्रमुख, यातायात समिति, पत्रकार, प्रहरीलगायत रोहबरमा गाडीको भाडादर सम्बन्धमा सम्बन्धित यातायात व्यवसायी समितिले तोकेभन्दा बढी रकम असुल्न नमिल्नेमा जोड दिइएको छ ।

युवा सङ्घका सदस्य विपुल पोखरेलले रामपुर नगरपालिकाको गेझा बर्दलेबाट बेझाड बजारसम्म करिब १२ किलोमिटरको दूरीमा रु ३०० तिर्नु परेको गुनासो गरे । “गाडीधनीले मनपरी भाडा लिने गरेका छन्, कालीगण्डकी करिडोरको पक्की सडकमा छोटो दूरीमा धेरै भाडा तिरेर यात्रु गर्नुपर्दा सर्वसाधारण यात्रु मर्कामा परेका छन्” उनले भने ।

बस, कार, भ्यानले मनपरी भाडा असुल्ने गर्दा सर्वसाधारण यात्रु मर्कामा परेकाले भाडा समायोजन गरिदिन अनुरोध गर्दै नगरपालिकामा निवेदन बुझाएको मनिराम पौडेलले बताए । रामपुरको बेझाड बजारदेखि रामटारसम्मको करिब १५ किलोमिटरको दूरीमा नमस्ते रामपुर यातायात प्रालिले रु २०० भाडादर तोकेको छ । तर सम्बन्धित यातायात धनीले दोब्बर भाडा लिने गरेको यात्रुको गुनासो छ ।

यातायात व्यवसायीसँग बसेर निश्चित भाडाको दररेट, गाडी गुड्ने क्षेत्र निर्धारण, ट्राफिक व्यवस्थापनलगायत विषयमा छिट्टै निर्णय गरेर यात्रु महानुभावलाई सुलभ रुपमा सेवा दिने नगर प्रमुख रमणबहादुर थापाले बताए । “समितिले तोकेको भन्दा बढी भाडा असुल्न नपाइने र अब सम्बन्धित निकायले निश्चित भाडादर तोक्नेछ, कसैले अटेर गरेर मनपरी भाडा असुलेको प्रमाणसहित जानकारी आएमा सम्बन्धित निकायले कारबाही गर्नेछ”, नगर प्रमुख थापाले भने ।



प्रतिक्रिया दिनुहोस्