Logo

बाह्रबर्षे मकर मेलाः पनौती नगरद्वारा व्यवस्थापनको तयारी



काभ्रेपलाञ्चोक, १० कात्तिक । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ । आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि नगरपालिकाले तयारी थालेको छ । नगरले सरकारी एवं गैरसरकारी सस्थालाई प्रस्तावसमेत आव्हन गरेको छ ।

नगरले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाइ एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनलगायतका व्यवस्थापनको कामका लागि प्रस्ताव आह्वान गरेको छ । विभिन्न समिति र उपसमितिमार्फत निर्माणका काम भइरहेका छन् ।

नगरप्रमुख भीम न्यौपानेका अनुसार बाह्र वर्षमा महिनाभर लाग्ने ‘मकर मेला’को तयारीस्वरुप पूर्वाधार निर्माणको काम भइरहेको छ । सँगसँगै प्रवद्र्धनका कार्यक्रमसमेत थालिएको छ । नगरले गत वर्षदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतिर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो । हाल पनौतीले मेला प्रवद्र्धनार्थ स्थानीय विभिन्न सङ्घसंस्थासँग समन्वय गरी मेलाको प्रचार गरिरहेको छ । मकर सङ्क्रान्तिदेखि सुरु हुने सो मेलाका लागि छिमेकी मुलुक भारतबाट समेत तीर्थालु आउने गरेका छन् ।

पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटर र बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजना सञ्चालन गरिरहेको छ । उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवथित गोरखनाथलाई अर्पण गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।

मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नतिको काम भइरहेको न्यौपानेले बताउनुभयो । निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती–आशापुरी सडकलाई स्तरोन्तति ९पक्की० गरी मेलाअघि नै सञ्चालनमा ल्याइनेछ । स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा ९पुण्यमाता करिडोर०ले राहत दिलाउने आशा गरिएको छ ।

मेला सम्पन्न गर्न विभिन्न उपभोक्ता समिति गठन भइसकेका छन् । ती समितिले आउँदो पुसको अन्त्यसम्म त्रिवेणीघाट मात्र नभई पनौतीलाई ‘दुलही’झैँ सिङ्गार्ने छन् । पनौतीभित्रका मठमन्दिर र पाटीलाई रङरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइनेछ । पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गरिनेछ । पूर्वाधार निर्माणका लागि गत वर्ष नगरले रु तीन करोडभन्दा बढी बजेट छुट्याएको थियो ।

श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कबाट त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायँबाँया पैदलमार्ग, विश्रामस्थललगायत भौतिक संरचना निर्माण द्रुतगतिमा अघि बढाइएको छ । नगरले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङगटीले छाउने, रथको मर्मत गर्ने तयारी गरेको छ । पनौतीबाट चन्ले सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएको स्टिकर र फ्लेक्स टाँगिनेछ । रासस



प्रतिक्रिया दिनुहोस्