Logo

उत्खननको पर्खाईमा ठाडाखानीको तामाखानी



म्याग्दी, १० कात्तिक । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी गाउँको शिरानमा रहेको तामाखानी उत्खनन्को पर्खाईमा छ । रुमले भिरमा अवस्थित उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा आएपनि त्यसपछि भने बन्द भएको थियो ।

तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएका कारण सो तामाखानी बन्द भएको हो । उक्त तामाखानी हालसम्म पुनः सञ्चालनमा ल्याउन कुनै पहल हुन सकेको छैन । तत्कालीन समयमा तामाखानी उत्खनन् गरेवापत सरकारलाई भेजा (कर) तिर्न नसकेका कारण उक्त खानी राणा शासकको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बूढापाका बताउँछन् । त्यसपछिका राजनीतिक परिवर्तनपश्चात पनि उक्त तामाखानी सञ्चालनमा आउन सकेको छैन ।

“राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएपछि खानी सञ्चालनमा आउने आशा गरेका थिए, चार वर्ष बित्यो, कुनै पहल भएन”, स्थानीय गिरी छन्त्यालले भने। ठाडाखानीमा छन्त्याल र विक जातीका मानिस बसोबास गरेको बस्ती हो । एक सय ६ वर्ष अघि उनीहरु रुमले भिरको तामाखानी उत्खनन् गरी तामासँग अन्न साँट्ने गरेका थिए । यसरी नै स्थानीयवासीले जीवन निर्वाह गर्दै आएका थिए ।

तत्कालीन सरकारले अत्यधिक कर लिन थालेपछि तामाखानी बन्द गरी अन्य वैकल्पिक पेसा र वैदेशिक रोजगारीतर्फ लाग्नुपरेको रघुगङ्गा गाउँपालिका–६ का वडासदस्य टेकजीत छन्त्यालले बताए । रुमले भिरमा पाँच सुरुङ छन् । सुरुङको प्रवेशद्वारबाट २०० मिटरभित्र छिरेपछि तामाखानी हेर्न सकिन्छ । तामाखानी सञ्चालनमा आउन सके राज्यले वार्षिक करोडौँ आम्दानी गर्न सक्ने तथा स्थानीयवासीले रोजगारी पाउने सम्भावना छ । रासस



प्रतिक्रिया दिनुहोस्