Logo

नेपाल प्रहरी मोबाइल एपको प्रयोग तथा विशेषता सम्बन्धी अनुशिक्षण सम्पन्न



काठमाडौं, १० कात्तिक । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानवश्रोत एवं प्रशासन विभागको सुपरीवेक्षण तथा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयको आयोजनामा ‘नेपाल प्रहरी मोबाइल एप’को प्रयोग तथा विशेषता सम्बन्धी ३ दिवसीय अनुशिक्षण मंगलबार सम्पन्न भएको छ ।

अनुशिक्षणको पहिलो दिन प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की, दोस्रो दिन प्रहरी प्रधान कार्यालय कार्य निर्देशनालयका प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुक र तेस्रो दिन प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा एवं सूचना प्रविधि निर्देशनालयका प्रहरी अधिकृतहरुले छुट्टाछुट्टै सत्रमा नेपाल प्रहरी मोबाइल एपको प्रयोग, विशेषताहरु, फाइदाहरु तथा आम नागरिकले एप मार्फत प्रहरीलाई दिन सक्ने कुनै पनि घटना, अपराध लगायतका सूचनाहरुको विवरण तथा प्रहरी कर्मचारीहरुले एपमा भएका प्रावधानहरूका बारेमा लिन सक्ने सुविधा सम्बन्धी जानकारी दिएका थिए ।

उक्त अवधिमा महानगरीय प्रहरी कार्यालय अन्तर्गतका ३ वटै प्रहरी परिसर, मेट्रो कन्ट्रोल, ७ वटै प्रदेश प्रहरी कार्यालय, ७ वटै संघीय प्रहरी ईकाई कार्यालय तथा सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरु, सूचना अधिकृतहरु, प्रहरी परिचालन कक्षहरुका प्रमुखहरु एवं ड्युटी अफिसर र घटना सम्बन्धी विवरण तथा अभिलेख व्यवस्थापनमा खटिएका कूल ८ सय ६५ जना प्रहरी कर्मचारीहरुलाई भर्चुल माध्यामबाट उक्त अनुशिक्षण प्रदान गरिएको हो ।

नेपाल प्रहरीको Area Of Responsibility (AOR)  निकै बृहत् रहेको तथा सो अनुसार जनशक्ति न्यून रहेको अवस्थामा नेपाल प्रहरी मोबाइल एपको प्रयोग गरेर आम नागरिकहरूले प्रहरीसँग सम्बन्धीत सूचना Geographical Information System (GIS) मा आधारित रहेर समेत दिन सकिने प्रावधान रहेको छ । जसको प्रयोगले आम नागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थान सहितको सूचना प्रदान गर्न सक्नेछन् ।

प्रहरीलाई पनि सो स्थानमा छिटो छरितो रुपमा सहजै पुगी प्रहरी सेवामा प्रभावकारिता ल्याउन मद्दत पुगेको छ । साथै नेपाल प्रहरी मोबाइल एपद्वारा अडियो, फोटो र भिडियो जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा सहजताका साथै प्रहरी कार्यलाई अझै चुस्त राख्न समेत मद्दत पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्