Logo

यसकारण पर्यटकको रोजाइमा पर्छ डोल्पा



जाजरकोट, १० कात्तिक । नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४।८ किलोमिटर र चौडाइ १।६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ । हिमालको काखमा रहेको यो ताल सफा र कञ्चन हिमाल पग्लिएर बनेको छ ।

शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज पनि हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजातिका पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण ९६,८६६ मि०, सिकाल्पो खाङ ९६,५५६ मि।०, वेज चुचुरो ९७,१३९ मिटर० जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो शे फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औँ शताब्दीमा निर्मित शे गुम्बा पनि यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाको चाहना अनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकिएको छैन । डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो ।

तालको मनोरम दृश्यले जसलाई पनि मोहित बनाउँछ । पछिल्लो समय फोक्सुण्डो ताल आकर्षणको केन्द्र बन्ने गरेको छ । सडकमार्ग हुँदै यहाँ पुगेमा यात्रा निकै रमाइलो छ । त्यस्तै हवाई मार्गमार्फत गएमा झनै मन लोभ्याउने दृश्य देख्न सकिने पर्यटकहरु बताउँछन् । बास बस्नका लागि ठाउँठाउँमा होटेलहरु निर्माण गर्ने क्रम जारी छ । बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा पर्यटकलाई लोभ्याउने प्राकृतिक क्षमता छ । डोल्पा मात्र होइन, छिमेकी जिल्लाको समृद्धिको ठूलो आधार ताल बन्न सक्छ । ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र छ । रासस



प्रतिक्रिया दिनुहोस्