Logo

नेकपा(एस)को विभिन्न आयोग, परिषद् र मञ्च गठन



काठमाडौँ, ११ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विभिन्न आयोग, परिषद् मञ्च गठन गरेको छ ।शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग, माधव पौडेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् गठन गरिएको हो ।

उक्त परिषद्मा सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने पोलिटव्यूरो सदस्य दीलुकुमारी पन्तले जानकारी दिए ।त्यस्तै सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ ।

पार्टीको केन्द्रीय निकायका रूपमा केन्द्रीय परिषद् गठन गरिने भएको छ । उक्त परिषद्मा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी तथा सदस्य र जिल्ला कमिटीका अध्यक्षहरू रहनेछन् ।

ती निकायमा हरेक निर्वाचन क्षेत्रका आधारमा आउने सङ्ख्यामा कम्तीमा एकतिहाइ महिला सदस्य हुनुपर्ने छ । हरेक जनसङ्गठनबाट सम्बन्धित सङ्गठनमा रहेको सङ्गठित सदस्य सङ्ख्याको अनुपातमा प्रतिनिधित्व हुनुपर्ने र खुला रूपबाट पनि केही सङ्ख्याका सदस्य समावेश गरिने भएको छ। केन्द्रीय कमिटीले केन्द्रीय परिषद्का सदस्यलाई आवश्यकतानुसार विभिन्न फाँट तथा जिल्लाको सह–इञ्चार्जको जिम्मेवारी दिन सकिनेछ । यसैगरी केन्द्रीय परिषद्का सदस्य प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी पनि ती निकायमा रहन सक्नेछन् ।

केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चमा अध्यक्ष उपाध्यक्ष र सचिव पदाधिकारी रहनेछन् । प्रदेश तथा स्थानीय तहका कमिटीमा भने एक अध्यक्षसहित दुई उपाध्यक्ष, एक सचिव र तीन उपसचिव गरी सात पदाधिकारी रहनेछन् । प्रदेश तथा स्थानीय कमिटीका सात पदाधिकारीमध्ये कम्तीमा एक महिला हुनुपर्नेछ । विभिन्न जनवर्गीय सङ्गठन गठन गर्ने क्रम पनि जारी छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्