Logo

नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई पक्राउ



काठमाडौँ, ११ कात्तिक: काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका बालाजु बोहराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो र जुलावसिंह स्याङ्बो रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्रबाट गए राति खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथमा चरेस फेला पारेपछि पक्राउ गरिएको जनाइएको छ ।

यसैबीच सोही ठाउँस्थित सडकबाट १५० ग्राम गाँजा र ९०० ग्राम चरेससहित ललितपुर महालक्ष्मी नगरपालिका बस्ने २८ वर्षीय विवेक रुम्बा र काठमाडौँ महानगरपालिका–३२ जडीबुटी बस्ने ३४ वर्षीय अविनाश राजभण्डारीलाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

ठगी गर्र्न खोज्ने पक्राउ

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौँ गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का २७ वर्षीय मीनबहादुर पाइनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको साथबाट ५० दरका ११ थान अमेरिकी डलर, एक दरको १ थान, २० दरको ३३९ थान, १० दरको ३६७ थान डलर, चार थान मोबाइल, प्रदेश ०२–३०प ६९१६ नंको मोटरसाइकल र रु पाँच लाख बरामद गरेको छ । उक्त घटनाका फरार अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्