Logo

बागमती प्रदेशको सरकारका मुख्यमन्त्री र मन्त्रीहरु को हुन्



काठमाडौं, ११ कात्तिक । बागमती प्रदेशमा नयाँ सरकार गठन भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री नियुक्त भएका छन् ।

पाण्डे लामो समय नेकपा एमालेको राजनीतिमा रहे । माधवकुमार नेपालनिकट रहँदै आएका उनी राजनीतिक भूगोल मजबुत भएका नेतामध्ये पर्छन् । धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भई विगतमा मन्त्री समेत भइसकेका उनी पछिल्लोपटक प्रदेश सांसद निर्वाचित भएका थिए । उनको स्थायी घर गजुरी हो ।

स्नातकोत्तर गरेका पाण्डे २०३१ सालबाट नै राजनीतिमा सक्रिय थिए । उनी विगतमा शिक्षक पनि रहे ।

पाण्डे २०४३ सालमै धादिङबाट राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार बनेका थिए । पटक पटक धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।

बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेल उपनिर्वाचनमा विजयी भएका थिए । भक्तपुर निर्वाचन क्षेत्र नं १ क बाट निर्वाचित उनको स्थायी घर चाँगुनारायण हो । उनी २०४८ सालमा वडा अध्यक्ष निर्वाचित भए ।

नेकपा एसबाट आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका कृष्णप्रसाद शर्मा खनाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा पनि मन्त्री भएका थिए । तर, उनले पछि नेकपा एस रोजेका थिए ।

चितवन स्थायी घर भएका खनाल त्यहीबाट प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए । उनी २०६५ सालमा नेकपा एमाले चितवन जिल्ला अध्यक्ष समेत बनेका थिए ।

नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान बागमती प्रदेश सरकारकी कान्छी मन्त्री हुन् । २०३६ सालमा मकवानपुरमा जन्मिएकी उनी जनयुद्धमा होमिएर राजनीतिमा लागेकी हुन् । २०६४ सालमा माओवादी केन्द्रबाट मकवानपुर क्षेत्र नम्बर ४ बाट निर्वाचित भएकी थिइन् । सशस्त्र द्वन्द्वकालमा उनी जेल समेत परिन् ।



प्रतिक्रिया दिनुहोस्