Logo

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान (फोटोफिचर)



काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज विहान बेलायत प्रस्थान गरेको छ ।

स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डल बेलायत प्रस्थान गरेको हो । देउवा नेतृत्वको प्रतिनिधिमण्डल विहान १०ः४० बजे कतार एयरको उडानबाट लन्डन प्रस्थान गरेको छ ।

प्रधानमन्त्री देउवा भोली नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आईतबार प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले स्वागत समारोह राखेको छ ।

प्रधानमन्त्री देउवा कार्तिक १५ गते कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन्। उनले वर्ल्ड लिडर समिटमा नेपालकोतर्फबाट सम्बोधन गर्नेछन्। सोही दिन साँझ देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

प्रधानमन्त्री देउवा कार्तिक १६ गते बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागीता जनाउँनेछन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन्।

बेलायतबाट देउवाको टोली कार्तिक १८ गते स्वदेश आइपुग्ने छ। प्रधानमन्त्री देउवाले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी गहृमन्त्री बालकृष्ण खाणलाई दिएका छन् । पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot