Logo

स्थानीय तहलाई पहिलोपटक नक्सा हस्तान्तरण



रसुवा, १२ कात्तिक: स्थानीय तह गठन भएपश्चात् पहिलोपटक तयार पारिएको नक्सा गाउँपालिकालाई हस्तान्तरण गरिएकोे छ ।जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले नापी विभागले गाउँपालिका अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्तरूपमा गाउँपालिकास्तरको नक्सा हस्तान्तरण गरेका हुन् ।

जिल्लामा गठन भएका पाँचवटा गाउँपालिकाको सिमाना छुटिृने गरी तयार पारिएको नक्सा र पेनड्राइप समेत हस्तान्तरण गरिएको नापी विभागका प्रमुख नापी अधिकृत विकासकुमार कर्णले बताए ।

वितरीत सामग्रीमा नक्सा पाँच÷पाँच थान पेनड्राइप दुई-दुई थान तथा नक्साको विस्तृत प्रतिवेदनको किताब (बुकलेट) एक÷एक थान छन् । नयाँ नक्साबाट पाँचवटै गाउँपालिकाले आ–आफ्ना सिमाना यकिन गर्न, माटोको प्रकार हेर्न, कृषियोग्य जमिन पहिचान गर्न , यसभन्दा अगाडि नाप नक्सा भई उपभोग गर्दै आएका आवादी जमिन पहिचान गर्नसमेत सहज भएको छ ।

यस्तै खानीजन्य सम्पदाको क्षेत्र छुट्याउन, खोल्छा तथा झर्ना, वन जङ्गल क्षेत्र हेर्न र उद्योग खोल्न मिल्ने उपयुक्त स्थानसमेत पहिचान गर्न नक्साबाटै सहज हुने नापी अधिकारीले बताएका छन् । सङ्घीयताको मर्म र भावनाअनुरूप भू–उपयोग ऐनको परिधिभित्र रही नक्सा तयार पारिएकाले कार्यान्वयनमा लान सुझाव दिइएको बताइएको छ ।

कुनै पनि नागरिकलाई आ–आफ्ना क्षेत्रका नक्सा आवश्यक परेमा सम्बन्धित गाउँपालिकाबाटै उपलब्ध हुने नापी कार्यालयका प्रमुख सञ्जीवकुमार राउतले जानकारी दिए। पेनड्राइपबाट नक्सा छपाइमा कुनै समस्या भएमा नापी विभागबाटै दक्ष प्राविधिक स्थानीयस्तरमै खटाइने र गाउँमा पुग्ने प्राविधिक कर्मचारीको भत्तासहित सम्पूर्ण खर्च नापी विभागले बेहोर्नेसमेत प्रमुख नापी अधिकृत कर्णले स्पष्ट पारे ।

नयाँ नक्साले भू–अवस्था राम्रोसँग अध्यायन गरी विकास आयोजनासमेत तर्जुमा गर्न सहज हुने भएकाले तदारूक्ताका साथ कार्यान्वयनमा लान आग्रह गर्दै जिल्ला समन्वय समितिका प्रमुख भट्टले नक्सा कार्यान्वयन गराउँदा विवाद आएमा आफूले सहजीकरण गर्ने बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्