Logo

अझै चलेन इजलास



काठमाडौं, कार्तिक १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका न्यायाधीशहरू शुक्रबार पनि इजलास गएनन्। इजलास नचल्दा बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दा प्रभावित बनेका छन्। समाधानको पहल नहुँदा न्यायपालिकामा देखिएको समस्या झनै लम्बिँदै गएको छ।

प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि संयुक्त र एकल गरी १० वटा इजलास तोकेका थिए। प्रधानन्यायाधीशसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो। त्यो इजलाससमेत बस्न सकेन।

सर्वोच्चका न्यायाधीशहरूले मुद्दा नहेरेपछि उनीहरूविरुद्ध तीनवटा रिट निवेदन पेस भएका छन्। ती निवेदन दर्ता हुनेरनहुने आइतबार निक्र्योल हुने सर्वोच्च प्रशासनले जनाएको छ।

यता नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाले राजीनामा नदिए देशभर आन्दोलन गर्ने भएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमिति बैठकले उपत्यका बार एकाइसमेतको सुझावअनुसार कालोपट्टी बाँध्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानन्यायाधीशले विकृति, विसंगति र भ्रष्टाचार रोक्न, न्यायपालिकाको स्वच्छता तथा गरिमा कायम राख्न नसकेकाले राजीनामा मागिएको बारले जनाएको छ।

‘कात्तिक १४ देखि १७ सम्म प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्ने र कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन उपत्यकाका बार एकाइका कानुन व्यवसायीलाई अनुरोध गर्ने’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

देशभरका बारका अध्यक्ष र सचिवसँग भर्चुअल छलफल गरी सुझाव संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ। ‘कार्यक्रम अवधिभर राजीनामा नआएमा विरोधका थप कार्यक्रम घोषणा गर्ने’, बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शुक्रबार नेपाल बार एसोसिएसन परिसरभित्रै दुईजना कानुन व्यवसायीबीच कुटाकुट भयो। अधिवक्ता विराट न्यौपाने र भूमिनन्द चुडालबीच आपसी विवादका कारण कुटपिट भएको बताइएको छ। विवाद चर्किंदै गएपछि कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन्। चुडाललाई न्यौपानेले कुटेका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्