Logo

जनमत पार्टीद्वारा जसपाका नेता र इन्जिनियरहरूविरुद्ध उजुरी दर्ता



जनकपुरधाम, १४ कात्तिक । सीके राउत नेतृत्वको जनमत पार्टीले सत्तारुढ जनता समाजवादी पार्टीका नेता र इन्जिनियरहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषा जिल्ला समन्वय समितिका सचिव विजय साहले १६ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

जसपा धनुषा अध्यक्ष पशुपति यादव, संघीय परिषद् सदस्य नविन यादव, इन्जिनियरहरू गौरी पण्डित, विजय यादव, सरोज यादव, भवेश मिश्रलगायतमाथि उजुरी दर्ता गराएको जनाइएको छ । पाँच दिनअघि नै उनीहरुविरुद्ध उजुरी दर्ता भए पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

केन्द्रीय सचिवालयमा तोडफोड र आगजनी गरेकाहरूलाई पक्राउ गरेर कारबाही गर्न उजुरी दर्ता गराएको र अडिओ-भिडिओ प्रमाणसमेत प्रहरीमा पेस गरेको डा. राउतले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल प्रहरीले यथाशीघ्र कारबाही गरोस्, अन्यथा आक्रोशित जनताले केही कारबाही गरे हामी जिम्मेवार हुने छैनौँ ।’

आगजनीजस्तो जघन्य अपराधमा एउटा राजनैतिक पार्टीसँग आबद्ध केही इन्जिनियरहरू समेत संलग्न देखिएको भन्दै काउन्सिलले यथाशीघ्र उनीहरुको लाइसेन्स खारेज गर्नुपर्ने उनको माग छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot