Logo

खानेपानीमा सहज पहुँचः स्थानीयवासीमा खुसीयाली



–विजय रावत खलङ्गा, १४ कात्तिक : जुम्लाको तातोपानी गाउँपालिका–१ स्थित बाइराँका गाउँमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ ।

करिब तीन दशकदेखि पानीको चरम सङ्कटमा जीवन बिताउन बाध्य भइरहेकाले खानेपानीमा सहज पहुँच पुगेपछि उनीहरु खुसी भएका हुन् । अहिले गाउँमा लिफ्ट एरिकेसनको माध्यमबाट खानेपानी पुगेपछि स्थानीयवासी हर्षित भएको सोही गाउँका जोखबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक सय ४० घरधुरी भएको बाइराँमा एक धारा मात्र हुँदा प्रत्येक घरलाई चार दिनको एकपटक पानी भर्ने पालो बाँडिएको थियो । त्यसमा पनि २० लिटर मात्रै पानी भर्ने नियम थियो ।” अहिले गाउँको सिरानमा २० हजार लिटरको रिजर्भ ट्याङ्की बनाइएको छ । चार धाराबाट बाइराँवासीले पर्याप्त खानेपानी पिउन पाएको स्थानीयवासी शाहीको भनाइ छ ।

“गाउँको छेउमै तिला नदी छ तर नदीमा पिउनयोग्य पानी बग्दैन, हामीले वर्षौंसम्म त्यही नदीको दूषित पानीले प्यास मेट्यौँ”, स्थानीयवासी विमला शाहीले भन्नुभयो, “खानेपानी जोहो गर्नकै लागि विद्यार्थीको पढाइ प्रभावित हुने गरेको थियो । अहिले त्यो समस्या हटेको छ ।” उहाँका अनुसार बिहान र बेलुका विद्यार्थीलाई गाग्री बोकेर नदी पुग्नुपर्ने बाध्यता थियो । तर अहिले गाउँमा पानी पुगेपछि बालबालिकालाई सहज भएको छ । “पानी सार्दै विद्यालय छुट्थ्यो, आजभोलि सरसफाइ गर्नसमेत सहज भएको छ”, उहाँले भन्नुभयो ।

खानेपानी पाउनै धौ धौ पर्ने बाइराँकामा सिँचाइ र वस्तुभाउका लागि पानी पुग्ने कल्पना नै थिएन । लिफ्ट एरिकेसनमार्फत पानी पुगेपछि तरकारी बारीमा सिँचाइ गर्न तथा वस्तुभाउलाई पानी दिन सहज भएको छ । पानी बोकेरै जिन्दगी बित्ने चिन्ता बोकेका स्थानीयवासी गाउँमा पानी पुग्छ भन्ने कल्पना पनि गरेको थिएन । हाल बाइराँका गाउँका एक सय ४० घरधुरीसहित गाउँको विद्यालयले पनि खानेपानी उपभोग गर्न पाएका छन् ।

करिब आठ वर्षअगाडि देखि सुरु भएको सो खानेपानी आयोजना अलपत्र परेको थियो । खानेपानीकै लागि यहाँका स्थानीयवासीले रित्तो गाग्री बोकेर सदरमुकाममा समेत आन्दोलन गरेका थिए । प्रदेश सरकारको रु २० लाख बजेटमा तिला नदीबाट झण्डै एक किलोमिटरमाथि पानी तानिएको बाइराँका खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष मात्रै गाउँमा खानेपानी पु¥याउन सफल भएका छाँै । अब क्रमशः घरघरमा धारा विस्तार गर्ने योजनाका साथ लागिरहेको छु ।”

गाउँपालिकाद्वारा एकल पुरुषलाई ‘विदुर’ भत्ता

जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । गाउँपालिकाभित्रका ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको हो । चालु आव २०७८÷७९ देखि विदुर भत्ता दिने निर्णय भइसकेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “एकल पुरुषलाई मासिक रु दुई हजार विदुर भत्ता दिने कार्यपालिको निर्णयसमेत गरिएको छ ।” गाउँपालिकाले विदुर भत्ताका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । “बजेट अपुग भएको खण्डमा निर्णय गरेर थप्नेछौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाले विदुर भत्ता दिने निर्णयको एकल पुरुषले स्वागत गरेका छन् । समाजमा एकल पुरुष पनि सहाराविहीन हुने गरेका छन् । सो भत्ताले थोरै भए पनि राहत दिने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो ।

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गुठीचौर गाउँपालिकाले यसबाहेक थप एकल पुरुष भत्ता वितरण गर्न थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताउनुभयो ।

गाउँपालिकाभित्र रहेका एकल पुरुषको तथ्याङ्क सङ्कलनको काम सुरु भएको छ । तथ्याङ्क गाउँपालिकामा आउने बित्तिकै विदुर भत्ता दिन सुरु हुनेछ । एकल पुरुषको तथ्याङ्क सङ्कलनका लागि प्रत्येक वडालाई सर्कुलर गरिएको छ । गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना हर्लिक्स, कुखुरा र अण्डा वितरण गर्दै आएको छ । हिमाली जिल्लामा ६० वर्षदेखि माथिका लाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले त्योभन्दा तल ४० वर्षभन्दा माथिका एकल पुरुषलाई विदुर भत्ता दिन थालिएको हो ।

गाउँपालिका महिला, बालबालिका, एकल पुरुष, एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्तिको हितका लागि संवेदनशील रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो । गाउँपालिकाले यसअघि एकल पुरुषले भोग्नु परिरहेको समस्याबारे अध्ययन गरेको थियो । समाजमा एक पुरुषको अवस्था पनि दयनीय भएकाले उनीहरुको अवस्थामा सुधार ल्याउन र जीवनयापनमा सहजता ल्याउनका लागि विदुर भत्ता दिने निष्कर्षमा पुगेको गाउँपालिको समाजिक शाखाले जनाएको छ ।

पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने बित्तिकै बूढाबूढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसले उनीहरु बिचल्लीमा परेको देखिन्छ । अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका छन् । एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot