Logo

प्रधानन्यायाधीश जबरा न्यायाधीशहरुलाई फकाउँदै



काठमाडौं, १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरुसँग औपचारिक अनौपचारिक छलफल बढाएका छन् । उनले सर्वोच्च अदालतको कामकारबाही सामान्य तरिकाले बढाउनेबारे छलफल बढाएका हुन् ।

आज प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु अनिलकुमार सिन्हा, मनोजकुमार शर्मा र सपना मल्लसँग छलफल गरे । प्रधानन्यायाधीश र इजलाश बहिष्कार गर्ने न्यायाधीशहरुको सेतुको भूमिकामा तीन न्यायाधीश जबरालाई भेट्न पुगेका थिए ।

जबराले अन्य न्यायाधीशहरुसँग पनि सम्पर्क गरेर इजलाशमा फर्कने वातावरण मिलाउनेबारे कुराकानी गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार जबरा निकै ढुक्क साथ प्रस्तुत भइरहेका छन् । उनले असन्तुष्टिका बारे बुझेर कुरा मिलाउनेबारे प्रक्रिया थाल्ने जवाफ दिएको बुझिएको छ ।

सबैभन्दा पहिला सर्वोच्च अदालतका न्यायाधीशहरुलाई नै सन्तुष्ट बनाएर काममा फर्कन लगाउने गरी जबरा लागेका छन् । त्यसपछि उनले नेपाल बार एशोशिएसनका पदाधिकारीसँग पनि कुरा मिलाउने तयारी गरेका छन् ।

विश्वस्त स्रोतले प्रधानन्यायाधीश कुनै हालतमा राजीनामा दिने पक्षमा नभएको स्पष्ट पारेको छ । उनी सर्वोच्च अदालतलाई अझ प्रभावकारी र विश्वसनीय बनाउने गरी न्यायाधीशहरुलाई एकजुट बनाएर जाने योजना बनाएर बढेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्