Logo

राहदानी बनाउनेको लर्को



काठमाडौं, कार्तिक १५। राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए ।

परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो । जुन बढ्दै गएर दिउँसो अनियन्त्रित भीडमा परिणत भएको थियो । जसका कारण विभागसँगै जोडिएको सडकमार्ग पटक–पटक अवरुद्ध हुुन पुगेको थियो ।

विभागका कर्मचारी कृष्णहरि घिमिरेले भने, “जागिर खाएको यत्रो वर्ष भयो तर राहदानी बनाउनेको भीड यसैपाला देखेको हो ।” अति भीडका कारण विभागका कर्मचारीलाई पनि व्यवस्थापन गर्न हम्मे–हम्मे परेको उनले बताए ।
अचाक्लीको भीडले तिहारको किनमेलका लागि पैदलमार्ग हिँड्ने यात्रुले पनि सास्ती खेप्नु परेको थियो ।

विभागले मङ्सिर महिनादेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्दै छ । त्यसपछि माघदेखि औपचारिक रूपबाट विद्युतीय राहदानी वितरण पनि सुरु गर्दै छ । त्यसैले पनि तत्कालका लागि पुरानो प्रकृति बोकेको मेसिन रिडेबल राहदानी नलिन विभागले बारम्बार अनुरोध गरिरहेको छ ।

तर, अचेल अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई–डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्