Logo

रावलको राजीनामा किन?



काठमाडौं, कार्तिक १५। एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् । यसअघि उनले मौखिक रूपमा राजीनामा दिने उद्घोष गरेका थिए । लिखित राजीनामा दिएका रावलले सो सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको जनाएका छन् ।

नेता रावलले राजीनामा दिँदै भनेका छन्, ‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउनेतर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिनेगरी सार्वजनिक रूपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकाले कार्यदलमा रहिरहनुको औचित्य नदेखिँदा स्थायी कमिटीको बैठकमा गरेको घोषणाअनुरूप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेस गरेको छु ।’

उनले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै गत १० कात्तिकमै लिखित राजीनामा पेस गरेको बताएका छन् । एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्न १० बुँदे सहमति भएको थियो । सो १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट सो सहमति अनुमोदन भएको थियो ।

साथै अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारीसमेत गरेका थिए । नेता रावलले भनेका छन्, ‘कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो । एमालेको सिंगो पंक्ति मात्र होइन, वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ ।’

५ कात्तिक २०७८ मा तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बसेको स्थायी कमिटीको बैठकमा १० बुँदे सहमति र अपानि १२ कार्यान्वयनका सम्बन्धमा भएको छलफलका क्रममा सहमतिका लागि गरिएका प्रयत्न १० बुँदे सहमतिको अवस्थाबारे यथार्थ चित्रण गर्दै लिखित रूपमा जानकारी गराएको नेता रावलले बताएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्