Logo

न्यायपालिका शुद्धीकरणका लागि भोकभोकै मर्न तयार छौंः बार अध्यक्ष



काठमाडौं, कात्तिक १५ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका सुधारका कदम सफल नभएसम्म बारको आन्दोलन जारी रहने बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने, “न्यायपालिकाका विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि हामीले २०७६ वैशाख ६ गतेदेखि नै विभिन्न माग राख्दै आयौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वचन दिँदै आउनुभयोे, पछि आफ्नै वचन फिर्ता लिँदै जानुभयो ।

न्यायपालिका नै शक्ति पृथक्कीकरणविरुद्ध गयो । त्यसैले हामीले न्यायपालिकाको शुद्धीकरणका लागि पद छाड्नुपर्छ भन्दै आएका हौं ।” बारका २० हजार सदस्य र ९० शाखा अहिले आन्दोलित भएको बताउँदै उनले न्यायपालिका सुधारका लागि आफूहरु भोकभोकै मर्न पनि तयार रहेको बताए ।

उनले थपे, “यसमा कानुन व्यवसायीको रोजीरोटीमात्र नभएर सेवाग्राहीको न्यायको कुरा पनि जोडिएको छ । न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र निर्भीक बनाउन न्यायकर्मी, कर्मचारी, मिडिया, नागरिक समाज निरन्तर लागेका छन् । अब छिटै उहाँको राजीनामा आउँछ भन्नेमा हामी ढुक्क छौं । उहाँ के चाहनुहुन्छ, त्यो उहाँकै हातमा छ । जति ढिलो हुन्छ, त्यति न्यायपालिका डिरेल हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot