Logo

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ ले भोलि माईतीघरमा बृहत्त आन्दोलन गर्ने



काठमाडौं, १५ कार्तिक । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ ले भोलि विहान साँढे ११ बजे काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन तथा आन्दोलन गर्ने भएको छ । पछिल्लो समय ‘न्यायालयभित्रको बेथिति, विसंगति, नेपाल बार एशोसिएशनले सुरु गरेको आन्दोलन’ लगायतका विषयका विरुद्धमा मोर्चाले भोलि काठमाडौंमा बृहत्त आन्दोलन गर्न लागेको जनाएको हो ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जनतालाई न्याय पाउने अधिकारबाट बञ्चित गरिनुहुँदैन भन्दै बारको आन्दोलन र न्यायाधीशहरुले गरेको बेञ्च बहिष्कारको विरुद्धमा भोलि प्रदर्शन गर्न लागिएको र उक्त प्रदर्शनमा सहभागी हुनको लागि पनि जनसमूदायलाई अपिल गरेको छ । मोर्चाले अहिलेको सन्दर्भमा नेपालका राजनीतिक दलहरु नै असफल भएको पनि निश्कर्ष निकालेको छ। सरकार चलाउन असफल भए हात हठाउन र देश चलाउन आफूहरु सक्षम रहेको पनि मोर्चाको भनाई छ ।

कार्यक्रममा मोर्चाका सह–अध्यक्ष तथा बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले अदालतमा भ्रष्टाचार छ भने भनेर न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले नै प्रतिवेदन सार्वजनिक गरिसकेकोले अब नेपालको न्यायालय कुन अवस्थामा रहेको छ ? भन्ने कुरा प्रष्ट भएको बताए । उनले भने,‘न्यायापालिकामा भ्रष्टाचार छ भनेर प्रतिवेदन आएपछि न्यायाधीशहरु भ्रष्ट रहेछन भन्ने कुरा प्रमाणित भएन र ? अनि अदालतमा विधिको शासन, स्वतन्त्र र स्वच्छता कहाँ पाईन्छ ?’

उनले न्यायाधीशहरुले इजलास बहिष्कार गर्नु गलत भएको पनि टिप्पणी गरे । उनले भने,‘प्रत्येक नेपाली नागकिरलाई आफूविरुद्धको कसुरको जानकारी राख्ने हक छ । वकिल त कालोपट्टी बाँधेर बसेका छन्, यो गलत भएन र ? जनतालाई न्याय पाउने अधिकारबाट बञ्चित गराउने ? न्यायाधीशहरु चाहीँ नेपाली जनताले कर तिरेर गाडी चढेर अफिस आउनुहुन्छ । सुरक्षा निकायको सलाम खानुहुन्छ । अदालतभित्र प्रवेश गरेर हाजिर गर्नुहुन्छ । अनि तलब पनि खानुहुन्छ । यो भन्दा अनैतिक न्यायालय हुन्छ ? चोलेन्द्र र तपाईँहरुबीच विवाद भयो, जनतालाई न्याय पाउने कुराबाट किन बञ्चित गर्ने त ? प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हिजो संसदीय सुनवाईले ठिक भन्ने अनि आज कसरी बेठिक भए ? कमसेकम अहिले चोलेन्द्रले इजलास त राखिरहेका छन् ।’

उनले देशको संकट, भ्रष्टाचारको विरुद्धमा आफूहरु भोलि प्रतिकारको रुपमा सशक्त जनआन्दोलन तय गरेको भन्दै त्यसमा सहभागी हुन सबै न्यायप्रेमी जनतालाई अपिल गरेका छन् ।

त्यस्तै, कार्यक्रममा मोर्चाका राष्ट्रिय अध्यक्ष शेखरजंग रायमाझीले आफूहरुल्े दलगत स्वार्थमा लागेका न्यायाधीशहरुको राजीनामा माग्ने बताए । उनले भने,‘अहिले न्यायालय स्वतन्त्र भएन । भ्रष्टाचार चरम सिमामा पुग्यो । राजासहितको सर्वपक्षीय सम्मेलन तुरुन्तै डाकियोस । त्यो सम्मेलनमा देशको समस्याबारे छलफल र बहस होस । अहिले प्रधान्यायाधीशलाई मात्रै दोषी बनाईएको छ । न्यायाधीशहरु नियुक्ती भएपछि पार्टी कार्यालयमा पुग्नेहरुको लावाालस्कर देखिएको थियो । त्यसको असर आज देखिरहेको छ । न्यायाधीशहरु न्याय दिन आएका होईनन् भन्ने कुरा पुष्टि भयो ।’

अभियन्ता शोभराम थापाले अहिले न्यायालयमा पार्टीको जस्तो अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘हाम्रो न्यायालयमा पार्टीको अवस्था देखियो । पार्टीबाट सिफारिश भएर आएकाहरु न्यायाधीशहरु भएकोले पनि यो अवस्था देखियो । यो देश र जनताको लागि दुर्भाग्यपूर्ण छ ।’

अहिले न्यायालयमा कहीँ नभएको जात्रा भएको पनि उनको आरोप थियो । उनले भने,‘न्यायालयको बेथितिको विरुद्धमा हामी आन्दोलनमा उत्रिएका छौं । भोलि पोखरामा पनि आन्दोलन हुन्छ । न्यायालय पार्टी नबनोस, हामी चाहन्छौं कि न्यायालय न्यायालय नै बनोस । यदि यो भएन भने हामी आन्दोलनमा उत्रिन्छौं । प्रशासन मौन छ । बेथितिले जरो गाडिसकेको छ । प्रशासनले प्रशासन चलाउन सक्दैन् । प्रधानमन्त्री शेरबहादुर देउवाले देश चलाउन सक्दैनन् भने राजीनामा दिए हुन्छ, हामी चलाएर देखाउन तयार छौं ।’

मोर्चाका वरिष्ठ उपाध्यक्ष दिनेश कँडेलले पनि मुलुक अनिर्णयको बन्दी बनिरहेको भन्दै आफूहरु मुलुकलाई अनिर्णयको बन्दी हुन नदिनको लागि संघर्षका कार्यक्रम अघि सारेको बताए । उनले भने,‘अहिले न्यायालयभित्र जुन व्यवहार भैरहेको छ, यो एकदमै दुःखलाग्दो छ । न्यायमूर्तिहरुको बीचमा हानाहान, मारामार, कुटाकुट भएको छ । यसबाट जनता निराशाजनक अवस्थामा गुज्रिरहेका छन् । मुलुक अस्तव्यस्त छ । देश दण्डहिनतातर्फउन्मुख छ । अहिले देश गम्भीर मोडमा अघि बढेको छ ।’

उनले न्यायाधीशहरुले बेन्च बहिष्कार गर्नु गलत भएको टिप्पणी गरे । उनले भने,‘अधिकांश मानिसहरु न्यायको लागि भौतारिएका छन्, तर न्यायाधीशहरु इजलास बहिष्कार गरेर बसेका छन् । दलहरुले स्वतन्त्र न्यायापाकिलामाथि गम्भीर हस्तक्षेप गरे । न्यायमूर्तिहरुलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौं कि लाज लाग्नुपर्ने हो तपाईँहरुलाई ।’ उनले पनि अहिले कसैले पनि देश चलाउन नसक्ने हो भने जनताले देश चलाउने बताए ।

त्यस्तै, विक्रम बमले बार एशोसिएशनले आन्दोलन फिर्ता गर्नुपर्ने धारणा राखे । उनले भने,‘नेपाल बार हो कि वार हो, तपाईँहरुको क्रियाकिलापहरु तत्काल बन्द गर्नुहोस । २४ घण्टाभित्र आन्दोलन फिर्ता लिएर बहस इजलासमा गर्नुहोस । होईन भने तपाईँहरुको अब सम्पत्ति छानबिन गर्नुपर्छ । तपाईँहरु न्यायाधीश र वकिलहरुलाई अब जनताले बहिष्कार गर्नेछन् ।’

उनले वर्तमान संविधान २०७२ बाट नै अहिले मुलुकमा समस्या सुरु भएको टिप्पणी गरे । उनले भने,‘यो संविधानले न्यायाधीशहरुलाई ईजलास बहिष्कार गर्ने अधिकार छ र ? यो संविधान अपूर्ण छ । अपांग छ । देश र माटो सुहाउँदो यो संविधान होईन । देशमा अहिले असफल सरकार छ । न्यायालयमा इजलास बहिष्कार गरिएको छ । तर, सरकार अन्धो छ । प्रतिपक्ष पनि बोलेन । किन चुप लागेर बसेको छ ? यदि तपाईँहरु सक्नुहुन्न भने अब हामी चलाउँछौं देश ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई देशमा यस्तो अवस्था हुँदापनि बोल्न नसक्ने हो भने राजीनामा दिन भनेका छन् । पत्रकार सम्मेलन भने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ का बरिष्ठ उपाध्यक्ष श्रीराम कँडेलले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्