Logo

ढाकाटोपी पारखीको चहलपहल बढ्यो



काठमाडौं, कार्तिक १६। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै गएको छ । तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन छ । यसले गर्दा ढाकाटोपी खरिद गर्नेहरू बढेको व्यापारीहरू बताउँछन् ।

विगत २५ वर्षदेखि ढाकाटोपीको व्यापार गर्दै आएका लक्ष्मी श्रेष्ठले तिहारमा दाजुभाइको शीरमा ढाकाटोपी आवश्यक पर्ने भएकाले सबैको रोजाइमा परेको जानकारी दिए । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शीरमा ढाकाटोपीले हरेक दाजुभाइ भाइटीकाका दिन सजिने गर्छन् । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई ढाकाटोपी उपहार दिने प्रचलन छ ।

उनका अनुसार भाइटीकाका दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यता छ । ढाकाटोपी नेपाली समाजको पहिचान हो । यसलाई हाम्रो आस्थाको प्रतीक समेत मानिन्छ । अर्का व्यापारी सुरेश नगरकोटीले तिहारलाई लक्षित गरेर ढाकाटोपी बिक्री गरिरहेका छन् ।

तिहारमा धेरै माग हुने भएकाले यस पर्वलाई लक्षित गरेर उनी सामान मगाउँछन् । नगरकोटीले ढाकाटोपी १५० देखि पाँच हजार रुपियाँसम्मको रहेको जानकारी दिँदै पाँच सयदेखि दुई हजार रुपियाँका टोपी बढी बिक्री हुने बताए । विवाहका लागि अर्डरबमोजिम बनाइने टोपीको मूल्य धेरै हुने उनले बताए ।

भाषाविद् गणेशराम लाछीले भने, ‘ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव हो । ढाकाटोपी केवल शीर ढाक्ने वस्त्रका रूपमा मात्र नभएर नेपालीको पहिचान हो । आस्थाको प्रतीक पनि हो ।’ उनका अनुसार भाइटीकामा दिदीबहिनीले दाजुभाइको शीरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ । टोपीजस्तै दाजुभाइको शीर उच्च रहोस् भन्ने प्रतीकात्मक सन्देशसहित ढाकाटोपी उपहार दिइन्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot