Logo

प्रधानन्यायाधीशलाई घोक्रेठ्याक लगाउन चाहेका होइनौंः बारका पूर्व अध्यक्ष



काठमाडौं, कात्तिक १६ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजसम्म राजीनामा नगरे बारको आन्दोलन ‘पिसफुल’बाट फोर्सफुलमा बदलिने बताएका छन् । उनले सम्मानजनक बहिर्गमनका लागि तयार नभए अपमानजनक बहिर्गमनका लागि तयार हुन पनि चेतावनी दिए ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वअध्यक्ष खड्काले भने, “हामीले पनि प्रधानन्यायाधीशलाई घोक्रेठ्याक लगाउन चाहेका होइनौं । फूलमालासहित सम्मानपूर्वक बिदाइ होस् भन्ने चाहन्छौं । तर त्यसो गर्न मान्नुभएन भने केको माला लगाउने हो, उहाँकै हातमा छ । पहिले राजीनामा दिँदै दिन्न भन्नुभएको थियो, अब तत्काल दिन्नँ भन्नुभएको छ । राजीनामा गर्नुभएन भने हामी उहाँलाई अदालतमा प्रवेश गर्न रोक्छौं । पिसफुल आन्दोलनले भएन भने फोर्सफूल कार्यक्रम ल्याउँछौं ।”

नेकपा एमाले प्रधानन्यायाधीश राणाको पक्षमा रहेको आरोप उनले लगाए । उनले भने, “एमालेले राजीनामा गर्नु पर्दैन भन्नु त राणाले केपी ओलीको निर्देशनमा काम गर्नुभएको रहेछ भन्ने प्रस्ट भएन र ? नेपाल बार त्यति कमजोर छैन । विगतमा जस्तै हामी बारको तागत देखाइदिन्छौं ।”

राणाको राजीनामाले मात्र न्यायालयमा सम्पूर्ण सुधार नहुने भए पनि त्यसबाट समाधान नभएका कुरामा बारले फेरि कार्यक्रम ल्याउने उनले बताए । उनले थपे, हो, “राणाको नियुक्ति संविधान बमोजिम भएको हो । तर उहाँलाई विकृति, विसंगति, भ्रष्टाचारलाई बढावा दिनूस्, बेन्चमा विभाजन ल्याउनूस्, सेटिङमा काम गर्नुस् भनेर नियुक्ति दिएको पनि त होइन नि ।”

नेपाल बारकोे संस्थागत निर्णयमा केही असन्तुष्टि सुनिए पनि त्यो मूलस्वर नभएको उनले बताए । उनले थपे, “२०३६ र २०४६ मा पनि प्रतिकार समिति गठन भएकै हुन् । प्रधानन्यायाधीशले राजीनामा दिएपछि न्यायालय बच्छ, अदालत सुचारु हुन्छ । संविधान बमोजिम काम नगरेपछि निकाल्नु परेन ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot