Logo

कहिल्यै कल्पना नगरेको र नभोगेको विषम मौसमी बिपत् झेल्दै छौंः दीक्षित



काठमाडौं, कात्तिक १६ । जलवायु विज्ञ अजयमणि दीक्षितले जलवायु परिवर्तनका कारण नेपालले पनि कहिल्यै कल्पना नगरेको र नभोगेको विषम मौसमी बिपत् झेल्नु परिरहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै दीक्षितले भने, “भूधरातल, जलवायु, मनसुन प्रणाली आदिका कारण नेपाल पनि उच्च जोखिममा भएको मुलुक हो । हिउँ पर्ने ठाउँमा पानी परिरहेको छ, कात्तिकमा आएको बाढीले निकै विनाश गरेको छ ।

खनिज र इन्धनको अत्यधिक दोहनका कारण विश्वमै असर परिरहेको औंल्याउँदै उनले नेपाल लगायत हिन्दुकुश हिमालय क्षेत्रमा पनि अछुतो नरहेको बताए । उनले भने, “विगत एक–डेढ सय वर्षदेखि विश्वमा हरित गृह ग्यासको उत्सर्जन बढ्दै गयो, पृथ्वीमा ताप बढी सञ्चय भयो । त्यसकारण जलचक्र प्रणालीमा असर गर्दा विषम मौसमी घटना बढे । कल्पना नगरेको, कहिल्यै नभोगेको विषम मौसमी बिपत् आए ।”

जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–२६० मा विश्व नेताहरुको शिखर बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन सामयिक भएको उनले टिप्प्णी गरे । उनले भने, “उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग प्रधानमन्त्रीले गरेको आग्रह सामयिक छ ।”

जलवायु विज्ञ दीक्षितले थपे, “प्रायः अन्तर्राष्टिय मञ्चमा नेपालीले भनेको कुरा सुनिँदैन, तर बेलायती मन्त्रीले मुस्ताङ जाँदा देखेको जलवायु परिवर्तनको असरबारे बताएपछि यसबारे पर्याप्त ध्यानाकर्षण भयो । वायुमण्डल साझा भएकाले कार्बन उत्सर्जन कम गर्नुपर्ने कुरा हो । यसले सबै मुलुकलाई उत्तिकै असर गर्छ ।”

प्रधानमन्त्री देउवाले नेपाल फर्केपछि जलवायु परिवर्तनका असर कम गर्ने उपायबारे सोचेर काम गर्नुपर्ने उनले औंल्याए । उनले भने, “प्रधानमन्त्रीको सम्बोधनले सही सुरुवात गरेको छ । स्वच्छ ऊर्जामा जाने, आन्तरिक रुपमा उत्पादित बिजुलीको खपत बढाउने, पेट्रोलियम आयात घटाउने, सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने आदि काम गरिहाल्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्