Logo

राजीनामाबाहेक सबै विषयमा छलफल गर्न प्रधानन्यायाधीश जबरा तयार



काठमाडौं, १६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै हालतमा राजीनामा नदिने दोहोराएका छन् । उनले असन्तुष्ट पक्षका तीन न्यायाधीशहरुसँग छलफलका क्रममा राजीनामाबाहेकको विषयमा छलफलको प्रस्ताव लिएर आउन भनेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार सिंहसँगको भेटमा प्रधानन्यायाधीश जबराले न्यायपालिकामा के के सुधारका काम गर्न सकिन्छ र कसरी आमूल परिवर्तन गर्न सकिन्छ भन्ने प्रस्ताव लिएर आउन भनेका छन् । तर, उनले राजीनामा नदिने स्पष्ट पार्दै त्यसबाहेक आफूले के के गर्नुपर्ने सुझावसहित आउन भनेका हुन् ।

आफू न्यायापालिकामा व्यापक सुधारको पक्षमा विगतमा नै भएको र त्यसमा साथ दिन पनि आग्रह गरे । मापदण्ड बनाएर न्यायाधीशहरुलाई पेशीमा राख्ने देखि जिम्मेवारी दिने विषय पनि जबराले राखेका थिए ।

प्रधानन्यायाधीश जबराले आज पनि न्यायाधीशहरुसँग छलफल गर्दैछन् । उनीमाथि सर्वोच्चका न्यायाधीश देखि नेपाल बार एशोशिएसन, सर्वोच्च बारले राजीनामाको दबाब दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot