Logo

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनल प्रवेश



काठमाडौं, १६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । सारजाह क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल प्रवेश गरेको हो ।

इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाए भने कप्तान डसुन शनकाले २६ रन जोडे थिए ।

इंग्ल्याण्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले समान २-२ विकेट लिए । यस्तै, लियाम लिभिङस्टोन र क्रिस वोक्सले १-१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि जोस बट्लरले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले । बट्लर यस विश्वकपमा शतक बनाउने पहिलो खेलाडी हुन् । साथै, कप्तान इयान मोर्गनले ४० रन जोडे । श्रीलंकाका वाविन्दु हसरंगाले ३ विकेट लिए भने दुश्मन्था चामिराले १ विकेट लिए ।

जितसँगै समूह १ मा रहेको इंग्ल्याण्डले ४ खेलमा ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । साथै, श्रीलंका ४ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्