Logo

खानीबिभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाईट जडान



काठमाडौं, १७ कात्तिक । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन खानीबिभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा ल्याईएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी खानीबिभाग र काठमाण्डौं महानगरपालिका वडा नं १को सहयोगमा टुकुचामा नयाँ ट्राफिक लाईट जडान गरि संचालनमा ल्याएको हो ।

खानीबिभाग चोकमा जडान गरेको ट्राफिक लाईट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्वीच अन गरी संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् । उद्‌घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताए ।

“हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा छौ, यसको लागी विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं । आज जडान भएका लाईट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ ।” भट्टराईले भने, “प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।”

कार्यक्रममा बोल्दै एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय ट्राफिक प्रहरीले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा अन्य स्थानहरुमा ट्राफिक लाईट जडान र अन्य कार्यहरुमा सहकार्य एव सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एनसेलका प्रशासन प्रबन्धक नारायण दाहाल, सिएसआर प्रमुख बिशाखा राज्यलक्ष्मी खड्का, ट्राफिक प्रहरी अधिकृतहरु, अन्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि टुकुचाको ट्राफिक लाईट उद्‍घाटन गर्दै कामनपा वडा नं १ का वडा सदस्य अशोक कुमार श्रेष्ठले प्रबिधीमैत्री ट्राफिक व्यबस्थापनलाई सबै तहबाट सहकार्य एव सहयोग हुनुपर्नेमा जोड दिए । स्थानिय तहले आफ्नो क्षेत्रमा सहज यातायात र दुर्घटना न्युनिकरणमा ध्यान दिनुपर्ने बताए । श्रेष्ठले पछिल्लो समय महाशाखाले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताए।

हाल उपत्यकाको मुख्य ३८ चोकहरुमा ट्राफिक लाईटबाट सवारी व्यबस्थापन हुदै आएको छ । ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा ट्राफिक लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम